Logo
Logo

गृह मन्त्रालयमै अभद्र व्यवहार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएयता गृह मन्त्रालयमा केही न केही रमाइला घटना भइरहेका छन् । कहिले पूर्व लडाकुले मन्त्री बादलकै अगाडि विष सेवन गर्छन् त, कहिले मन्त्री थापाका सल्लाहकार सूर्य सुवेदीले वीर अस्पतालका चिकित्सकलाई मन्त्रालयमै बोलाएर धम्क्याउँछन् ।

यी दुवै घटना घाइते तत्कालीन माओवादीका पूर्व लडाकुसँग सम्बन्धित छन् । पहिलो घटनामा आफूहरुको उपचार खर्च नभएको भन्दै एक पूर्व लडाकुले आत्महत्याको प्रयास गरेका थिए । दोस्रो घटनामा घाइतेहरुको प्रतिशत बढाउन मेडिकल सिफारिस गरिदिन भन्दै सुवेदीले वीर अस्पतालका चिकित्सकलाई मन्त्रालयमै बोलाएर धम्क्याएका थिए । यी दुवै घटनाले ठूलै हंगामा मच्चियो ।

अस्ति आइतबार सोही विषयलाई लिएर गृह मन्त्रालयमा तेस्रो घटना भयो, जसको बाहिर धेरै चर्चा भएको छैन । एक समूहले मन्त्रालयकी सहसचिव इन्दु घिमिरे लगायत कर्मचारीमाथि नै दुव्र्यवहार गरेको छ ।

मन्त्रालयमा सहसचिव घिमिरेको नेतृत्वमा घाइते पूर्व लडाकुको समस्या समाधानका लागि एक कार्यदल गठन गरिएको छ । सोही कार्यदलको आइतबार बैठक बसिरहेका बेला आफूले भनेको कुरा नमानेको भन्दै रुकुम घर भएका वकिल युवराज विश्वकर्मा लगायतले घिमिरेमाथि दुव्र्यवहार गरका हुन् । जसमा विश्वकर्मासहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धान गर्दा सो समूह द्वन्द्वको नाममा ठगी गर्ने गिरोह भएको खुलेको छ । पूर्व लडाकुको नाममा उक्त समूहले विभिन्न निकायबाट सहयोग माग्दै र ठग्दै आएको पाइएको छ । सोही समूहले केही महिनाअघि उद्योगमन्त्री मात्रिका यादवका सहयोगीलाई समेत दुव्र्यवहार गरेको थियो । सोही समूहले गृह मन्त्रालयभित्रै सहसचिव घिमिरेमाथि समेत कुटपिटको प्रयास गरेका छन् । शान्तिसुरक्षा र सुशासनमा कमजोर देखिएका गृहमन्त्री थापाले एक वर्ष बित्दा पनि घाइते पूर्व लडाकुको समस्या समाधान गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्