Logo
Logo

अदालतको सफाइपछि भ्रष्टाचार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । रंगेहात घुससहित पक्राउ परेका व्यक्तिहरुले समेत अदालतबाट सफाइ पाउन थालेपछि कर्मचारीहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रतिको डर कम हुँदै गएको छ । सोही कारण हरेक दिनजसो कर्मचारीहरु रंगेहात पक्राउ पर्दा पनि घुस खाने क्रम घटेको छैन ।

एकपटक रंगेहात घुससहित पक्राउ परेका कर्मचारीले अदालतबाट सफाइ पाएपछि फेरि भ्रष्टाचार गरेका छन् । चार वर्षअघि काभ्रेको सहायक वन अधिकृतका रुपमा कार्यरत हुँदा प्रल्हादप्रसाद धिताल २० हजार रुपैयाँ घुससहित बबरमहलमा पक्राउ परेका थिए । आफ्नो जग्गाको काठ काट्नका लागि अनुमति माग्दा उनले घुस लिएका थिए ।

तर, सो मुद्दामा उनलाई बिशेष र सर्वाेच्च अदालतले सफाइ दियो । काभ्रे कार्यक्षेत्र भएको व्यक्ति काठमाडौंमा घुससहित पक्राउ परेकाले घुस लिएको भन्नै नसकिने भन्दै उनलाई सफाइ दिइएको थियो । जुन न्यायिक इतिहासमै अचम्मको नजिर बनेको थियो ।

उनै धितालविरुद्ध गत साता अख्तियारले फेरि मुद्दा दायर गरेको छ । सामुदायिक वनको काठ अवैध रुपमा काट्न उनले एक लाख रुपैयाँ घुस लिएको खुलेपछि उनीसहित २० जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । मकवानपुरमा डीएफओका रुपमा कार्यरत रहँदा उनले त्यसरी अनियमितता गरेका हुन् । मकवानपुरको बकैयास्थित सामुदायिक वनमा अनियमित तरिकाले सालका रुख काट्दा अनियमितता भएको हो । जसमा डिभिजन वन कार्यालयको समेत मिलेमतो रहेको आयोगले जनाएको छ ।

उनीविरुद्ध एक करोड ५८ लाख र घुस लिएको एक लाख गरी एक करोड ५९ लाख बिगो दाबी गरी मुद्दा दायर गरिएको छ । सर्वाेच्चबाट सफाइ पाएपछि धिताल पैसा बुझाएरै मकवानपुरको डिएफओ भएका थिए । स्रोतका अनुसार तत्कालीन वनमन्त्री शंकर भण्डारीलाई पैसा बुझाएर उनी मकवानपुर गएका थिए । जहाँ उनले अनियमित तरिकाले करिब एक करोड कमाएको खुलेको छ ।

यो घटनाले अदालतकै सहयोगमा देशमा भ्रष्टाचार मौलाइरहेको प्रष्ट हुन्छ । त्यसरी हास्यास्पद आधार दिएर सफाइ दिने न्यायाधीशमाथि कारबाही समेत हुने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्