काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भएको छ ।
माओवादी केन्द्रको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा जारी बन्दसत्रले शनिबार गुरुङको विधान संशोधन प्रस्ताव पारित गरेको हो । पारित विधानअनुसार महाधिवेशनले ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट नेतृत्वको चयन हुनेछ ।

बन्दसत्रमा नेता गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएका छन् । सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिप रुप दिने गरी विधान मस्यौदा पारित भएको हो ।
पारित विधानअनुसार अब केन्द्रीय समिति २९९ सदस्यीय महाधिवेशनले निर्वाचित गर्नेछ । यसअघि केन्द्रीय समितिले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ ।
महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिट्व्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।
२९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनले निर्वाचित गरेपछि केन्द्रीय समितिबाट ९९ सदस्यीय पोलिटव्युरो र ३३ सदस्यीय स्थायी समितिको गठन हुने माओवादी महाधिवेशन प्रतिनिधि मुकेश साहले बताए ।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित भइसकेको छ । अब निर्वाचन समितिले निर्वाचन प्रक्रिया अगाडी बढाउने माओवादी नेता श्रीराम ढकालले बताए ।














