
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयन हुँदैछ । संशोधित विधानअनुसार माओवादीमा खुलातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना निर्वाचित हुनेछन् ।
सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने माओवादी केन्द्रले प्रयास गरिरहेको छ । हाल कायम रहेका केन्द्रीय सदस्यलाई निरन्तरता दिने र बाँकी रहेकोमा कलस्टर मिलाएर पूर्णता दिने माओवादीको तयारी छ ।
सहमतिमा नै नेतृत्व र समिति चयन हुने प्रवक्ता कृष्णबहादुर महराले बताए । ‘सहमतिमै नेतृत्व-समिति चयन प्रक्रिया अघि बढ्छ,’ प्रवक्ता महराले भने । माओवादी केन्द्रमा चुनाव हुने सम्भावना न्यून रहेको नेता महराको भनाई छ ।
यस्तो छ निर्वाचन तालिका
केन्द्रीय निर्वाचन आयोगले यदि चुनाव भइहालेमा वा औपचारिकता पूरा गर्न निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ताको समय २ देखि २ः ३० सम्म, उम्मेदवार प्रारम्भिक नामावली प्रकाशन ३ः ४० सम्म, उम्मेदवारको विरोधमा उजुरी ४ बजेसम्म, उजुरीको सूचना ४ः १० सम्म, छानविन र निर्णय ४ः३० बजेसम्म, उम्मेदवारको नामावली पुनप्रकाशन ४ः४० सम्म, उम्मेदवारको नाम फिर्ता ५ः३० बजेसम्म र अन्तिम नामावली प्रकाशनको समय ५ः४५ बजेसम्म तोकिएको छ । निर्वाचन हुने भएमा मतदान ६ः२५ देखि राति १०ः२५ बजेसम्म गर्ने कार्यक्रम छ ।
खुल्ला र समावेशीतर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि निर्वाचन समितिले सहमति नभएमा निर्वाचन अघि बढाउने गरी कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यको विस्तृत संरचनासहितको सूचना सार्वजनिक गरेका हुन् । जसमा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरूको संख्या उल्लेख गरिएको छ । खुलातर्फ १४५ जना निर्वाचित हुनेछन् ।
समानुपातिकतर्फ १५४ जनाका लागि निर्वाचन हुनेछ । दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टा, छुट्टै निर्वाचन हुनेछ छ । विधानमा माओवादीको केन्द्रीय समितिमा २९९ सदस्यीय हुने उल्लेख छ ।














