Logo
Logo

बाजुरासहित सुदूरपश्चिममा ‘भुवा’को रौनक


नन्दा थापा


बाजुरा । बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने साँस्कृतिक पर्व ‘भुवा’ सुरु भएको छ । महाभारतको कथामा पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पर्व पनि भन्ने गरेका छन् ।

पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । भुवा पर्व पुषेऔंसीको दिनबाट सुरु हुन्छ । यस भेगका वासिन्दाले दशैं–तिहारपछि भुवा पर्वलाई नै विशेष महत्वको पर्वका रुपमा मनाउने गर्दछन् ।

आफन्तसँगको भेटघाट, आपसी रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधीभर रमाईलो गर्ने गरिन्छ । यो पर्व तीनदेखि पाँच दिनसम्म मनाउने गरिन्छ ।

जिल्लाका बह्मतोला, मार्तडी, आटीचौर, बाह्विस, जुगाडा, कुल्देवमाण्डौ सहितका क्षेत्रमा भव्य रुपमा मनाइन्छ । ब्रह्मतोलामा यो वर्ष हरिनो जात्रा पनि परेको छ । पाण्डवहरुले जीत पछि खुसीयाली स्वरुप उत्सव मनाउँदा गरेका झाँकीसहित लाखे नाचहरु पनि प्रर्दशन गर्ने गरिन्छ ।

पौराणिक कालमा पाण्डव र कौरवबीच भएको लडाइँको सम्झना स्वरुप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा रहेको भुवा पर्वका जनाकार बताउँछन् । यस पर्वलाई असत्यमाथि सत्यको विजय भएको दिनको रुपमा पनि लिने गरिन्छ ।

भुवा पर्वको अवधिभर पुरुषहरु हातमा तरवार र खुकुरी लिएर युद्ध कलाको प्रर्दशनी गरी आत्मियता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ । लोक सँस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ती, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रुपमा परापूर्व कालदेखि मनाइदै आएको छ ।

भुवाको सुरुको दिनको राती राँके जुलुस निकालेर रातभर गीत मागल गाउने र दिनमा युद्ध कला प्रर्दशन गर्ने प्रचलन रहेको छ । भू क्रियामा आ प्रत्यय लागेर निर्माण भएको भुवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर हुन्छ । जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रुपमा पनि विश्लेषण गरिएको छ ।

पुरुषहरुको पर्वका रुपमा लिइने यस पर्वलाई पछिल्लो सयम महिलाहरुले पनि हातमा तरवार ढाल लिएर खेल्ने गरेको पाइन्छ ।

यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ । होरिनुमा पाण्डवले प्रयोग गरेका हुलिया जस्तै वस्तुको प्रर्दशनसँगै त्यो अवस्थामा साथ दिने जंगली जनावरका तस्वीरहरु पनि लाखे नाचको माध्यमबाट मनाउने गरिन्छ ।

जिल्लाबासीको पहिचान सँग जोडिएको पर्व अवधीभर अधिकांश विद्यालय आधा दिन बन्द हुने गरेका छन् । पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरा लगाएत सुदुरपश्चिमका अछाम, डोटी, बझाङ्ग लगाएतका जिल्लामा पनि मनाउने प्रचलन रहेको छ । भुवा पर्वकै अवसर पारी सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्