Logo
Logo

राष्ट्रियसभाका यी २० सांसदको कार्यकाल सकिँदै (सूचीसहित)


819
Shares

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङ छन् ।

नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ मा कार्यकाल सकिदैछ । राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनीत सदस्य बिडारीको पनि सोही मितिमा चारवर्षे कार्यकाल सकिदैछ ।

एमाले सांसदहरुमा अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेलको कार्यकाल सकिदैछ । यस्तै कांग्रेसबाट दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी र माओवादी केन्द्र सांसदहरुमा खिमकुमार विक, जीवन बुढा,. दीनानाथ शर्मा र शशीकला दाहालको समेत कार्यकाल सकिदैछ ।

विसं २०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । चारवर्षे पदावधि सकिनेमा सात महिला, तीन दलित समुदाय, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट दुई र अन्य समुदायका सात सदस्य छन् । माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि छ वर्षको हुन्छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । सदस्यको पदावधि समाप्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रियसभा सदस्यका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्छ । प्रबुद्ध समूहको प्रतिनिधित्व हुने भएकाले राष्ट्रियसभालाई परिपक्व सदन मानिन्छ । विसं २०७४ मा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) २७, नेपाली काँग्रेस १३, नेकपा (माओवादी केन्द्र) १२ तथा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले दुई–दुई सिटमा विजय हासिल गरेका थिए ।

यसैबीच आज (सोमबार) बसेको सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रियसभाको लागि १९ सिटमा भागबण्डा टुंगो लगाएको छ । जसमा काँग्रेसले ६, माओवादी केन्द्रले पाँच, एकीकृत समाजवादीले ५, जसपाले २ र जनमोर्चाले एक सिट पाएका छन् ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुदैछ । १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै राष्ट्रियसभा निर्वाचनका लागि भोलि (मंगलबार) उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवार टुंगो लगाउँन राजनीतिक दल आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्