काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कुन आधारमा केन्द्रीय सदस्य मनोनित गरियो भनेर प्रश्न गरेका छन् ।
बुधबार आफू पक्षधरहरुको बैठकमा लिखित सम्बोधन गर्दै नेता कोइरालाले मनोनित भएका सबै नेताहरु सक्षम र योग्य नै भएको भए पनि सभापतिले कुन मापदण्ड बनाएर उनीहरुलाई नियुक्त गरेको हो भन्दै प्रश्न गरेका हुन् ।
बैठकमा उनले भने– ‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर कुन मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौं ?’
उनले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी भएको र नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न पनि गरेका छन् । सभापति देउवाले रुचाएको र नरुचाएकोबाट व्यक्तिको चयन हुँदा पार्टी दुर्घटनामा पर्न सक्ने पनि बताए ।














