Logo
Logo
एमाले जिल्ला अधिवेशन

सुदूरपश्चिमका ८ जिल्लामा सहमति नजुटेपछि निर्वाचन हुँदै



काठमाडौं । सुदूरपश्चिमका ९ जिल्लामध्ये ८ जिल्लामा नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रक्रिया जारी रहेको छ । बझाङमा भने हिमपातका कारण अधिवेशन सुरु हुन सकेको छैन ।

सुदूरपश्चिमको ८ जिल्लामा जारी अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिएपनि धेरै आकांक्षी भएपछि सबै जिल्लामा निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार सहमति नजेटपछि ६ जिल्लामा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको छ ।

आकांक्षीबीच सहमतिको प्रयास जारी रहेको र सहमति नभए निर्वाचनबाट नेतृत्व छानिने उनले बताए । कैलाली, डडेल्धुरा, बैतडी, दार्चुला, डोटी र बाजुरामा निर्वाचन प्रक्रिया थालिएको हो । कञ्चनपुर र अछाममा बन्दसत्र जारी छ ।

सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीमा अध्यक्ष पदका आकांक्षीबीच सहमति हुन नसकेपछि नेतृत्व चयन प्रक्रिया निर्वाचनतर्फ गएको छ । जिल्लाको नेतृत्व लिन निवर्तमान अध्यक्ष रतनबहादुर थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुुनावी मैदानमा छन् । कैलालीमा एमालेको नयाँ नेतृत्व चयन गर्न आइतबार निर्वाचन हुँदैछ ।

सुरुमा अध्यक्ष पदका अर्का आकांक्षी जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेले चन्दलाई नै सर्मथन गर्दैै उनको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका छन् । थापाको प्यानलबाट उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा दानबहादुर विकचित्रण’ले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले कञ्चनपुरको अध्यक्षमा तीन जना आकांक्षी छन् । वीरबहादुर थापा, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले अध्यक्षमा दाबी गर्दै आएका छन् । थापा माओवादी केन्द्रबाट एमालेमा आएका नेता हुन् । उनीहरूबीच सहमतिको प्रयास जारी रहेको छ ।

यस्तै, डडेल्धुरामा निवर्तमान अध्यक्ष प्रकाश साउद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले अध्यक्षमा दावी गर्दै आएका छन् ।
उपाध्यक्षमा केशव बोहरा, धनबहादुर धामी विवेक र रूपसिंह ठकुराठीले उम्मेदवारी दिएका छन् । सचिवमा करन ताम्राकार र गजेन्द्र शाहीले उम्मेदवारी दिएका छन् । आकांक्षीबीच सहमति जुट्न नसक्दा चुनावी प्रक्रियाबाट नेतृत्व छान्न लागिएको छ ।

यस्तै, बैतडीमा पनि आकांक्षीबीच सहमति नजुटेपछि निर्वाचन हुने भएको छ । गोरखबहादुर चन्द र सुरेन्द्र पालले आआफ्ना प्यानल बनाएका छन् । अध्यक्षमा चन्द र पालबीच प्रतिस्पर्धा हुने भएको छ ।

चन्द प्यानलबाट उपाध्यक्षमा भगिरथ कुँवर, सचिवमा सन्तोष जोशी, सहसचिवमा जनकबहादुर चन्द र भरत मडै चुनावमा होमिएका छन् भने पालको प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली प्रतिस्पर्धामा छन् ।
दार्चुलामा पनि निर्वाचनबाटै नेतृत्व चयन हुने भएको छ । निर्वाचन समितिका अनुसार जिल्ला कमिटी अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

दार्चुलामा वर्तमान उपाध्यक्ष उदय बडाल, सचिव ज्ञानेन्द्र घर्ती, पूर्वसचिव मोहनसिंह धामी र जिल्ला कमिटी सचिवालय सदस्य एवम् नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीलगायतले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

यस्तै, अछाममा पनि सहमतिको प्रयास जारी रहेको बताइएको छ । यहाँ अध्यक्षमा प्रकाश शाह, चन्द्र बोहरा र कृष्णप्रसाद जैसी अध्यक्षका आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्