काठमाडौं । नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मी विवादास्पद व्यक्ति हुन् । उनले बोर्डको सिईओ हुन पटक–पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने प्रयास गरे पनि ओलीले उनलाई भेटेनन् । स्याङ्जातिर कांग्रेस भनेर चिनिने रेग्मीलाई जसरी भए पनि सिईओ हुन थियो । त्यसैले उनले राजेश बज्राचार्यमार्फत ओलीसँग भेट्ने प्रयासलाई निरन्तर जारी राखे । त्यसबीच सूर्य थापा रेग्मीको सम्पर्कमा आए । रेग्मी निकट स्रोतका अनुसार सिईओ नियुक्ति गर्नका लागि २५ लाख पार्टीलाई दिनुपर्ने कुरामा प्रस्ताव आयो । र, रेग्मीले थापामार्फत २५ लाख पार्टीलाई बुझाए ।

सो स्रोतका अनुसार उक्त रकम राजेश बज्रचार्यमार्फत थापाले पार्टीलाई बुझाएको बताइन्छ । तिनै रेग्मी कहिले एयरपोर्ट काण्ड त कहिले सुन तस्करीमा लागेको समाचार बाहिर आएको छ ।
रेग्मीले चार वर्षअघि कतारबाट क्यूआर ७३० नम्बरको जहाजमा आउँदा अवैध सुन पैठारी गरेको खुलेको छ । २०७४ पुस ७ गते रेग्मीले ल्याएको अवैध सुनलाई तस्करी ठहर गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ जरिवाना र सुन जफत गरेको थियो । त्यसको व्यहोराको पत्र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पुस ३० गते लेखेर जानकारी गराएपछि रेग्मीको धन्दा छताछुल्ल भएको हो ।
०७२७४६८७ नम्बरको राहदानी र १३४०५ नम्बरको स्याङजा जिल्लाबाट जारी नागरिकता बोकेका रेग्मी त्यस दिन क्यूआर ७३० नम्बरको उडानबाट तीन थान ३० ग्राम बिस्कुट आकारको सुन फेला पारेको थियो ।
विमानस्थल कार्यालयले उक्त सुन अवैध भएको ठहर गर्दै ५२९/०७४–०७५ नम्बरको मुद्दा दर्ता गरेको र मिति २०७७ भदौ २१ भएको फैसलामा निजले भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७ (१) बमोजिमको कसुर अपराध गरेको ठहर गर्दै बिगोबमोजिम १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ जरिवानाको निर्णय गरेको थियो ।












