Logo
Logo

सहारा क्लबलाई लुम्बिनी बिकासको आर्थिक सहयोग



काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत सहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई आर्थिक सहयोगस्वरुप २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सिग्देलले सहारा एकेडेमीमा आश्रित बालबालिकालाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकाले सञ्चालक सिग्देलले क्लबको प्रशंशा गरे ।

लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । कार्यक्रममा बैंकका न्यूरोड शाखाका प्रबन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रबन्धक गोपिराज अधिकारी, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्वअध्यक्ष विक्रम थकालीलगायतको उपस्थिति थियो ।

एकेडेमीमा हाल १५ जिल्लाका २४ कठिन एवं विपन्न परिस्थतिका बालबालिका छन् । सहारा क्लब पोखराले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ । हाल यस बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरुमार्फत २०७८ पुस मसान्तसम्ममा बैंकले रु ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरी रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।

लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखा र १७ वटा एटिएमबाट करिब ३ लाख ८० हजार ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा साप्ताहिकरुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्