Logo
Logo

अबको निर्वाचनमा प्रत्यक्षतर्फ एमाले शून्य सिटमा खुम्चिन्छ


मेटमणि चौधरी, नेता, एकीकृत समाजवादी


तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा दुईपटक संसद विघटन गरेर देशलाई प्रतिगामी दिशातर्फ लान खोजेपछि नेकपा (एमाले)को ओरालो यात्रा शुरु भयो । ओली कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न मात्रै होइन, सिंगो व्यवस्था नै ध्वस्त बनाउने मिसनमा रहेको ठहर गर्दै पाँच दलीय गठबन्धन बन्यो र गठबन्धन सरकारले देशको नेतृत्व गरिरहेको छ । प्रतिगामनविरुद्ध पाँच दलीय गठबन्धन बनेपछि एमाले दिनप्रतिदिन कमजोर हुँदै गएको छ । एमालेभित्र असन्तुष्टिको आवाज आगोझै फैलिरहेको छ । कतिपयले एमालेबाट विद्रोह नै गरेका छन् । कतिपय विद्रोहको तयारीमा छन् । एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ । देशव्यापी प्रवेशको लहरले एकीकृत समाजवादीका नेता हौसिएका छन् । आगामी निर्वाचन, पाँचदलीय गठबन्धन, एकीकृत समाजवादी र एमालेको भविष्यबारे नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एवं सांसद मेटमणि चौधरीसँग दृष्टिले गरेको संवाद:

नेकपा (एकीकृत समाजवादी) आगामी निर्वाचनमा देशकै निर्णायक शक्ति हुन्छ भन्दै आउनुभएको छ, त्यसको आधार के हो ?
आगामी चुनावमा एकीकृत समाजवादी पार्टी निर्णयक मात्रै नभएर नेपालकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको रूपमा स्थापित हुन्छ । यसै क्रममा एकीकृत समाजवादीले नेपालमा भएको सबै कम्युनिष्टहरूलाई एकताबद्ध गरि नेतृत्व गर्ने प्रकृयासमेत अगाडि बढाइसकेको छ । आजसम्म ३ वटा कम्युनिष्ट पार्टीहरूसँग एकता गरिसकेको यहाँहरूलाई स्मरण गराउन चाहन्छु । थप अरू पार्टीहरूसँग एकताको प्रक्रिया अघि बढेको छ ।

एकीकृत समाजवादी पार्टीले मुलुकको प्रणाली जोगाउने विषयमा, कानुनी राज्य निर्माणमा र संवैधानिक सर्वाेच्चलाई स्थापित गर्नको लागि समेत महत्वपूर्ण भूमिका खेलेको छ । नेपालका राजनीतिक दलहरूले नेपाली समाजको मनोविज्ञानलाई संबोधन गर्न सकिरहेका छैनन र आफूलाई समयअनुसार बदल्नसमेत नसकिरहेको अवस्थामा नेपाली समाजले नयाँ अनुभूति खोजिरहेको छ । यसको नेतृत्व नेकपा एकीकृत समाजवादी पार्टीबाट मात्रै सम्भव हुने कुराको अपेक्षा जनताले गरिरहेका छन् र खासमा नेतृत्व पनि हाम्रो पार्टीबाट मात्रै संभव हुने भएकोले आगामी निर्वाचनपछि एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो हुनेमा हामी विश्वस्त छौँ ।

मुख्य कुरा इमानदार कार्यकर्ता हुन्, जो इमानदार छन् ती एमाले छाडेर हाम्रो पार्टीमा आएका छन् । जो लोभीपापी र भ्रष्ट आचरणका छन्, तिनीहरु एमालेमै छन् । तसर्थ, ढिलो चाँडो एमालेभित्रका इमानदार कार्यकर्ता हाम्रो पार्टीमा आउनेछन् ।

तर, विरोधीहरू त सत्ता गठबन्धन निर्वाचनसम्म कायम रहेन भने एकीकृत समाजवादीको अस्तित्व नै समाप्त हुन्छ भन्छन् नि ?
अहिलेको पाँचदलीय गठबन्धन मुलुकको आवश्यकताले बनेको हो, कसैको लहड, कुनै व्यक्तिको इच्छा र चाहना पूरा गर्नको लागि यो गठबन्धन बनेको होइन । नेपालको संविधान, लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको हो । यसैले यो टिक्छ र टिक्नु पर्दछ । जहाँसम्म अस्तित्व नै समाप्त हुने कुरा छ, कुनै पनि राजनीतिक दल एक्लाएक्लै चुनाव लडे भने समाप्त हुने हो । चाहे हामी, चाहे अरू जोसुकै होस । २०७४ सालको चुनावमा नेकपा (एमाले) ठूलो हुनुको कारण अरू राजनीतिक दलहरूसँग मिलेरै हो । माओवादी केन्द्रको १३ लाख मत थपेरै एमाले ठूलो भएको हो । यसैले राजनीतिमा मिल्ने कुरा धेरै महत्वपूर्ण रहेछ । आज नेकपा एमाले दैनिकजसो कमजोर बन्नुको कारण हो– उ एक्लै छ । त्यसैले सबैले आफ्नो राजनीतिक दलको रक्षा गर्ने हो भने मिल्नु बाहेक उपाय हुँदैन । यो सबैमा लागू हुने कुरा हो ।

एउटा उद्देश्यका लागि यो गठबन्धन बनेको हुँदा त्यो उद्देश्य प्राप्तिका लागि पनि मिल्नुपर्छ । ०४८ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट जननेता मदन भण्डारी र कृष्णप्रसाद भट्टराई चुनाव लड्दा मदन भण्डारीले लोकतन्त्रको रक्षाका लागि दुईवटा चुनाव कम्युनिष्ट र कांग्रेस मिलेर जानुपर्छ भन्नुभएको थियो । तर, कांग्रेसले त्यो कुरा मानेन र भट्टराईले निर्वाचन हार्नुपर्याे । अहिलेको परिस्थिति पनि त्यस्तै छ । ओलीले प्रतिगमनको नेतृत्व गरिरहेका छन् । उनी यो संविधान ध्वस्त बनाउने बाटोमा हिँडेका छन् । त्यसैले प्रतिगामी र पुर्नउत्थानवादी तत्व परास्त नभएसम्म वाम लोकतन्त्रवादी मिल्नुको विकल्प छैन ।

नेकपा (एमाले) भित्रको खास समस्या के हो ? ओली दक्षिणपन्थी अवसरवादी भासमा फसेकै हुन ?
केपी ओली भन्ने मान्छे घमण्डी, दम्भी, हठी र व्यक्तिवादमा रमाउने मूर्ख मान्छे हुन् । उनी कमजोरी स्वीकार गर्न नस्कने स्वाँठ हुन् । यिनी आफू त बर्बाद भए नै, सिंगो कम्युनिष्ट आन्दोलनलाई नै बर्बाद बनाए । यिनीसँग न कम्युनिस्ट दृष्टिकोण छ, न त आचरण नै । यिनी जत्तिको अक्षम मान्छे सायदै दुनियाँमा कोही होला । यिनी पूरै दक्षिणपन्थी भासमा डुबिसकेका छन् । कम्युनिष्ट आन्दोलनमा यिनको कुनै कामै छैन । ओलीले एमालेलाई निजी कम्पनी बनाइसकेका छन् । त्यहाँ कुनै पनि फरक मतको कदर हुँदैन ।

योग्यता, क्षमता, अनुभवका आधारमा होइन, ओलीको जसले बढी चाकरी गर्छ उसैले एमालेमा जिम्मेवारी पाउने अवस्था छ । कम्युनिष्ट मुल्य–मान्यताअनुरुप अघि बढ्नेहरू एमालेमा रहन सक्दैनन् । बाध्यतावश एमालेमा बसेका इमानदार नेता, कार्यकर्ता क्रमशः त्यो पार्टी छाडेर समाजवादीमा आउँछन् । धेरै नेता, कार्यकर्तासँग हाम्रो सम्पर्क पनि भइरहेको छ ।

विगतमा ओलीका खरो आलोचक केही नेताहरूले एमाले छाडेपछि राजनीतिक भविष्य सकिन्छ भनेर विद्रोह गर्ने आँट गरेनन् नि ? तपाईं यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
राजनीतिमा विद्रोह भन्ने कुरा निकै थोरै मान्छेले मात्रै गर्न सक्छन् । हिजोको हरेक विद्रोहहरू पहिलेकोभन्दा असल र उन्नत समाज निर्माणको लागि भएको थियो । यदि, हरेक समाजमा विद्रोह नभएको भए आज हामी यो युगमा आइपुग्ने थिएनौँ । हामी वैज्ञानिक समाजवादी युगमा प्रवेशको तयारी पनि गरिरहेका छौँ । पूँजीवादी समाजमा विद्रोह अनिवार्य नै हुन्छ ।

तर, सत्य कुरा के हो भने– विद्रोहको शुरूको रूप सानो नै हुन्छ । पछि ठूलो रूप लिन्छ । जहाँसम्म १० बुँदाको कुरा छ– भिजनमा स्पष्ट नभएपछि विद्रोह नभएको हुनुपर्दछ । साथै, आँट र हिम्मत पनि नभएपछि मानिस विद्रोह गर्न डराँउछन् । आत्मसमर्पणको बाटो लाग्छन् । १० भाइको आत्मसमर्पण हो । जहाँसम्म भविष्य सकिने कुरा छ– हरेक विद्रोहले उन्नत समाज निर्माणका लागि भूमिका खेलेको हुन्छ ।

हामीले पनि त्यही गरेका छौँ । आजको समाजभन्दा अझ सुन्दर र उन्नत समाज निर्माणका लागि हामीले पनि भूमिका खेलेका छौँ । हाम्रो विद्रोहले हाम्रो मात्रै नभएर सिंगो नेपाली समाजको भविष्य सुरक्षित र सुनिश्चित भएको छ । हामीले एमालेबाट विद्रोह नगरेको भए यो संविधान ओलीले ध्वस्त बनाइसक्थे ।

एमालेबाट विद्रोह गरेर कांग्रेससँग सहकार्य किन नि ?
मैले माथि नै भनिसकेँ, यो संविधान ध्वस्त गर्न ओलीले दुईपटक संसद् भंग गरे । त्यसविरुद्ध हामी आन्दोलनमा उत्रियौं । सर्वोच्च अदालतले दुईपटक ओलीले गरेको विघटन सच्यायो । यस्तो बेलामा कांग्रेससँग सहकार्य नगरेको भए सायद नेपालको लोकतन्त्र जोगिनेवाला थिएन । अहिलेसम्म प्राप्त सबै उपलब्धि र अहिलेको प्रणाली समाप्त भइसकेको हुने थियो । कानुनी राज्य र संवैधानिक व्यवस्था समाप्त भइसकेको हुने थियो । यसैको रक्षाको लागि लोकतन्त्र र संवैधानिक मान्यतामा विश्वास गर्ने सबै राजनीतिक दल एकजुट भएको हो । विगतलाई फर्केर हेर्ने हो भने पनि परिवर्तनका लागि र प्राप्त उपलब्धिको रक्षाका लागि वाम लोकतान्त्रिक शक्ति एक भएका छन् ।

२००७ सालदेखि ०६२/६३ को परिवर्तन कांग्रेससँगको सहकार्यमा सफल भएको हो । आन्दोलनको उपलब्धि रक्षाका लागि फेरि पनि समयले वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच एकताको आवश्यकता देखेरै यो गठबन्धन बनेको हो ।

स्थानीय तहको निर्वाचन नजिकिँदै छ, पाँचदलीय गठबन्धन कायम रहँदा र नरहँदा एकीकृत समाजवादीलाई कस्तो असर गर्छ ?
एकीकृत समाजवादी विद्रोहबाट जन्मेको पार्टी हो । यसको केही निश्चित मान्यताहरू रहेका छन् । इथिक्समा विश्वास भएपछि चुनाव हार्ने र जित्ने गौण कुरा हो । तर, आफ्नो इथिक्समा हिँडेपछि विजय चाहिँ अवश्य प्राप्त हुन्छ । हामीले स्थापनाको छोटो अवधिमै सबै जिल्लामा द्रुत गतिमा संगठन विस्तार गरिसकेका छौँ । एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूको देशव्यापी लहर चलेको छ । स्थानीय तहमा मात्रै होइन, हरेक निर्वाचनमा हाम्रो सशक्त उपस्थिति हुन्छ, हामी धेरै सिट जित्छौँ । किनभने, हाम्रो आधार भनेको गाउँगाउँका इमानदार कार्यकर्ता हुन् । जसले कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान पुर्याएका छन् । त्यही बलमा हिजो हामीले अधिकांश पालिका जितेका हौं । भोलि पनि जित्ने छौं ।

ठूला दलमा उम्मेदवार बन्ने आकांक्षी धेरै हुन्छन्, कांग्रेसलाई एक्लै निर्वाचन जित्छु भन्ने लागेको छ । यस्तो अवस्थामा गठबन्धन कसरी टिक्छ ?
यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जोगाउन बनेको गठबन्धन निर्वाचनसम्म मात्रै होइन, निर्वाचनपछि पनि रहन्छ । हाम्रो निर्वाचन प्रणालीले पनि गठबन्धनलाई दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने हुन्छ । कुनै पनि दलले एक्लै बहुमत ल्याउने निर्वाचन प्रणाली हाम्रोमा छैन । मानौ, सत्तारुढ दलको गठबन्धन भएन भने पनि नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, जनमोर्चालगायत राजनीतिक दलसँग सहकार्य हुन्छ । यो गठबन्धनले नेपालमा सबैभन्दा धेरै मत होल्ड गर्छ । जहाँसम्म सिटको सख्या छ– सबैभन्दा धेरै सिटमा एकीकृत समाजवादी पार्टीको नेतृत्वमा रहेको राजनीतिक समीकरण नै विजय हुन्छ । किनभने, हामी देश र जनताप्रति इमान्दार छौं ।

तपाईंले एमालेबाट निर्वाचन जित्नुभयो, अहिले एकीकृत समाजवादीमा हुनुहुन्छ ? आगामी निर्वाचन तपाईंले जित्नुहुन्छ ?
नजित्ने त कुरै भएन । जित्छु । मैले जनतालाई झुठो गफ गरेर चुनाव जितेको होइन, निरन्तर जनतासँगको सम्पर्कमा छु । जनताको दुःख, सुखलाई आफ्नो ठानेको छु । मेरो निर्वाचन क्षेत्रमा मात्र होइन, देश दौडाहा गरेर प्रतिगमनको विरोधमा उभिएको छु । कम्युनिष्ट आन्दोलनलाई कसले किन ध्वस्त बनाउन खोज्यो भन्ने कुरा जनतालाई प्रष्टसँग भनेको छु । ओलीले ध्वस्त बनाएको कम्युनिष्ट आन्दोलन सुदृढीकरणमा लागेको छु ।

प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीले कति सिट जित्ला ? एमालेको स्थिति कस्तो हुन्छ ?
एकीकृत समाजवादी पार्टीले नेतृत्व गरेको राजनीतिक समीकरणले सबैभन्दा धेरै सिटमा विजय हासिल गर्छ भन्ने विश्वास छ । त्यसको आधार भनेको पनि गठबन्धन नै हो । जहाँसम्म एमालेको कुरा छ– प्रत्यक्षतर्फ शून्य सिटमा खुम्चिन्छ ।

एकीकृत समाजवादीको शक्ति आफू जित्न होइन, एमालेलाई हराउन मात्रै हो भन्छन नि ?
एकीकृत समाजवादी निर्वाचनमा आफू जित्छ । एमालेलाई हराउनै पर्दैन । उ आफै बिर्सजनको अवस्थामा पुगिसकेको छ । एमाले त आफै विघटन हुन्छ । दुईतिहाइ भुइँ न भाँडो बनाएको एमालेले जनताबीच के मुख देखाएर भोट माग्छ ? एमालेले त नैतिक धरातल नै गुमाइसकेको छ ।

एमाले महासचिव शंकर पोखरेल पनि तपाईंकै जिल्लाबासी हुनुहुन्छ । आगामी निर्वाचनमा उहाँको स्थिति कस्तो रहन्छ ?
शंकर पोखरेल चुनाव लड्ने आँट गर्न सक्नु हुन्न । चुनावबाट भाग्नु हुन्छ । हेर्दै जानुस– देश डौडाहा गर्नुपर्छ भनेर उहाँ चुनावबाट भाग्नु हुन्छ । लडे पनि जमानत जोगाउन सक्नु हुन्न । उहाँ प्रतिगामी हो, हामी अग्रगामी हौं ।

राष्ट्रियसभा निर्वाचनमा पाँचदलीय गठबन्धनले कति सिट जित्छ ? शीर्ष नेताहरूले गरेको सहमति प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले हुबहु पालना गर्लान् ?
राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले सबै सिटमा जित्छ । मतलाई आधार मान्ने हो भने हामी सबै प्रदेशमा अगाडि छौँ । प्रतिगामी, दक्षिणपन्थी अवसरवादी ओली प्रवृत्तिविरुद्ध र प्राप्त उपलब्धि रक्षाका लागि बनेको गठबन्धन तल्लोसहसम्मै मजवुद छ । निर्वाचनमा गठबन्धनको मत तलमाथि हुँदैन । एमाले शून्यमा झर्छ ।

भारतले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गरिरहेको छ । भारतसँगको सीमा समस्या कसरी समाधान गर्ने ? सत्तारुढ गठबन्धनले के सोचिरहेको छ ?
कुटनीतिक माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको समस्यालाई समाधान गर्नुपर्छ । जहाँसम्म लिपुलेक क्षेत्रमा सडक विस्तारको कुरो छ, यो भारतको दादागिरी हो । हेपहा प्रवृत्ति हो । सार्वभौम मुलुक चाहे सानो होस या ठूलो, सबैको बराबरीको हक हुन्छ । यदि, भारतले कानुन विपरित आफ्नो गतिबिधि गरिरह्यो भने यसको सशक्त मुकाबिला गर्नुपर्दछ ।

अन्त्यमा, प्रधानन्यायाधीशको राजीनामा मागेर नेपाल बारले आन्दोलन गरेको झण्डै तीन महिना भयो । दलहरु किन बोल्दैनन् ?
न्यायालयलाई लामो समयसम्म बन्धक बनाएर राख्नु हुँदैन । प्रधानन्यायाधीशले पदीय आचरणविपरीत काम गरेको भए उनीमाथि संसद्मा महाअभियोग दर्ता गर्नुपर्छ । सायद, सत्ता गठबन्धनसँग प्रधानन्यायाधीशलाई हटाउन दुईतिहाइ बहुमत नभएर होला, महाअभियोग दर्ता नभएको । त्यो भन्दा पनि ठूलो कुरा उचो नैतिकता हो । प्रधानन्यायाधीशले राजीनामा दिए राम्रो हुने थियो ।

प्रतिक्रिया दिनुहोस्