
जनकपुरधाम । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्र्तगत मधेस प्रदेशमा पाँच दलीय गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् ।
मधेस प्रदेशमा २ सिटका लागि ६ जना प्रतिस्पर्धामा थिए । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उर्मिला अर्याल महिला समूहबाट र जनता समाजवादीका खालिद सिद्धिकी अन्य समूहबाट विजयी भएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट रूपा यादव महिला समूहतर्फ र श्यामसुन्दर सरदार अन्य समूह तर्फबाट प्रतिस्पर्धामा थिए । त्यस्तै, नेकपा एमालेबाट महिला समूहमा बिना देवी साह र अन्य समूहबाट उस्मान अन्सारी प्रतिस्पर्धामा थिए ।
मधेस प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले साझा उम्मेदवारी दिएका थिए । यस्तै नेकपा एमाले र लोसपाले चुनावी तालमेल गरेका थिए ।
मधेस प्रदेशमा ६ जना जनप्रतिनिधि मतदानमा सहभागि भएनन् । निर्वाचन आयोग मधेस प्रदेश कार्यालयका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार मधेश प्रदेशमा ९८ प्रतिशत मतदान भएको थियो । कुल ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेको उनले बताए ।
प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको प्याकुरेलले बताए । प्रदेशसभा सदस्यतर्फ २ जना र स्थानीय तह (प्रमुख÷उपप्रमुख) तर्फ ४ जनाले मतदान नगरेको उनले जानकारी दिए ।
प्रदेशसभा सदस्यतर्फ ३६ महिला र ६६ पुरुष तथा स्थानीय तहतर्फ १३२ महिला र १३२ पुरुषले मतदान गरेका छन् ।











