काठमाडौं । जाडोयाममा कोठा न्यानो पार्नका लागि कोइला, दाउरा, हिटर आदि बालेर सुत्दा मृत्यु हुने क्रम बढ्दो छ । काठमाडौं प्रहरीका अनुसार एक महिनायता जिल्लामा ५ जनाको अकालमै ज्यान गएको छ ।

गत बिहीबार मात्रै शंखरापुर नगरपालिका–३ बोजेनीमा कोठामा कोइला बालेर सुत्दा दुई जनाको मृत्यु भयो । अघिल्लो साँझ खाना खाएपछि कोइला बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङको सुतेकै अवस्थामा मृत्यु भएको हो । ‘कोइला बालेर सुतेको पाइयो, निसासिएर मृत्यु भएको हुन सक्छ,’ काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले भने, ‘पोस्टमार्टमको रिपोर्ट आएको छैन, रिपोर्टले घटनाको यथार्थ खुल्नेछ ।’
त्यसैगरी तीन महिने शिशुलाई तेल लगाउन बालेको कोइला ननिभाइ सुत्दा रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चा बस्ने माघ ८ मा २८ वर्षीय पसुना तामाङ र उनका पति ३० वर्षीय अभिषेक रम्तेल बिहान बेहोस अवस्थामा भेटिए ।
शिशुको मृत्यु नै भयो । रम्तेल दम्पती बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तीनै जनालाई थिमिस्थित मध्यपुर अस्पताल पुर्याउँदा शिशुको मृत्यु भइसकेको थियो । रम्तेलको सोही दिन र पत्नी पसुनाको दुई दिनपछि मात्र होस आएको अस्पतालले जानकारी दिएको छ । कोइलाबाट निस्किएको कार्बन मोनोअक्साइडका कारण शिशुको मृत्यु र अभिभावक अचेत भएको अस्पतालका चिकित्सकले बताए ।, यो समाचार आजको कान्तिपुर बाट साभार गरिएको हो ।














