Logo
Logo

आयातित गुलाफमा भ्यालेन्टाइनको रौनक



काठमाडौं । रिस, माया र पीडा मिल्ने साथी थिए । उनीहरू प्रायः सधैँ सँगै हुन्थे । सँगै खेल्थे र घुम्थे । एकदिन उनीहरू लुकामारी खेलेछन् । माया र पीडा लुक्न गएछन् । लुकेका माया र पीडालाई रिसले देख्नुपर्ने थियो । पीडा पर्खालभित्र लुके, माया गुलाफको बोटमुनि । पीडालाई रिसले सजिलै देखिहाल्यो । तर, मायालाई देखेन । सबैतिर खोजे, घण्टौँ बित्यो तर देखेनन् । पीडाले भने माया लुकेको देखिरहेको थियो । रिसले मायालाई नदेखेपछि पीडालाई रिस उठ्यो ।

पीडाले मायालाई गुलाफको बोटमुनिबाट तानेर निकाल्यो । गुलाफको काँडाले घोचेर मायाको दुवै आँखा फुट्यो । माया आँखा नदेख्ने भयो । पीडाकै कारणले माया अन्धो भएपछि भगवानले एउटा सजय दियो– अब मायालाई जहिल्यै डोर्याएर हिँड्नु । त्यसैले जहाँ माया, त्यहाँ पीडा पनि हुन्छ । र, मायाको प्रतीकको रूपमा गुलाफलाई लिइन्छ ।

माया–प्रेमको कुरा चलेको बेला साथी रञ्जना तामाङले एकदिन ‘प्रेम कसरी अन्धो भयो ?’ भनेर उक्त कथा सुनाएकी थिइन् । मायाको सिजन अर्थात् भ्यालेन्टाइन सप्ताहमा त्यही कथा मानसपटलमा छायो ।

आज भ्यालेन्टाइन । सबैतिर मायाको चर्चा सुनिन्छ । कफी शप, क्याफे, सपिङ मल, फूल पसल, खुलापार्क होस् या बाटोघाटो, माया–प्रेमको चर्चा भइरहेको छ ।

पश्चिमी मुलुकमा मनाइने भ्यालेनटाइन–डे अर्थात प्रणय दिवस पछिल्लो समय नेपालमा युवा पुस्ताले मनाउँदै आएका छन् । शहरी क्षेत्रमा मात्रै नभइ गाउँका युवा–युवतीले समेत यसलाई महत्वका साथ मनाउन थालेका छन् ।

भ्यालेन्टाइन सप्ताह सुरुभएसँगै मायाको प्रतीक मानिने गुलाफको फूल पसल–पसलमा बेच्न राखिन्छ । आफ्नो माया दर्साउन प्रेमी–प्रेमिकाले रोज्ने गुलाफको माग यो सप्ताहमा ह्वात्तै बढेको छ, बढ्छ ।

साहित्य, गीत संगीतमा पनि प्रेम र गुलाफको सम्बन्ध अलग छैन । विश्व चर्चित साहित्यकार विलियम शेक्सपियरले प्रेमको प्रतीकको रुपमा गुलाफलाई नै लिएका थिए । उनलाई मनपर्ने फूल पनि गुलाफ नै थियो ।

कवि रोबर्ट बन्र्सले प्रेमिकालाई जून महिनामा फुल्ने गुलाफसँग तुलना गरेका थिए । उनले ‘माई लभ इज लाइक अ रेड, रेड रोज’ भनेर कविता लेखेका छन् । ‘मेरी प्रेमिका जून महिनामा फुल्ने ताजा रातो गुलाफजस्तै छिन्’ भन्ने उनको सनेटले जर्मनीमा त्यसबेला उथलपुथल ल्याइदिएको थियो ।

कवि क्रिस्टिना रोजेटीले ‘जब म मर्छु मेरो प्रियतम्’ शीर्षक कवितामा गुलाफलाई सम्बोधन गरेकी छन् । ‘जब म मर्छु मेरो प्रियतम, मेरो चिहानमा गुलाफका बोटहरू नरोप, ती गुलाफका थुँगाहरूले मेरो सम्झना दिलाउनेछन् र तिमी प्रेमले व्याकुल हुनेछौँ ।’

त्यस्तै एलिसन रिचर्डले आफ्नी प्रेमीकालाई भनेका थिए– ‘तिम्रो मुहार एक सुन्दर बगैँचा हो, जहाँ गुलाफ फुल्छ ।’

नाटककार बालकृष्ण समले ‘प्रेमपिण्ड’मा गुलाफप्रतिको अगाध आस्था दर्शाएका छन् । उक्त नाटकका मुख्य पात्र नकुलले प्रेमिका सवितालाई मृत्युपछि पनि गुलाफसँग नछुट्टिने अनौठो इच्छा प्रकट गरेका छन् । उनले कल्पना गरेका छन्– ‘प्यारी गुलाफको चितामा हामी जल्थ्यौंैं, जहाँ त्यसको धूवाँ मगमगाइ रहन्थ्यो ।’

प्रेम, कविको दुई लाइनमा अटाउने चिज होइन, न यसलाई तीन घण्टाको चलचित्रले देखाउन सक्छ । न त कुनै लेखकले हजार पृष्ठको किताबभित्रै अँटाउन सक्छ । तर, एक थुँगा गुलाफभित्र यो अँटाउने गरेको छ । आफूलाई मनपर्ने मान्छेलाई माया देखाउनुपर्यो भने एक थुँगा गुलाफको फूल काफी छ ।

प्रेम पत्रहरूमा समेत मायालुका आँखालाई तारिफ गर्नुपर्याे भने ‘गुलाफी नयन’ भनेर सम्बोधन गरिन्छ । प्रेमीले प्रेमिकालाई गुलाफसँग तुलना गर्दै फुक्र्याउँछन् ।

गुलाफलाई जिन्दगी, सुन्दरता र प्रेमको प्रतीकको रुपमा लिइन्छ । प्रेमी अथवा पे्रमिकालाई माया व्यक्त गर्न गुलाफ एकमात्र माध्यम हो । गुलाफले मनले बुझ्ने भाषामा प्रेमको कुरा गर्ने गर्छ । त्यसैले गुलाफलाई प्रेमको प्रतीकको रुपमा लिइन्छ ।

तर, नेपालमा प्रेमी–प्रेमिकाले ‘माया’ दर्साउने ती गुलाफका फूल भने स्वदेशी होइनन्, आयातित हुन् । तपाईंले मायालुलाई उपहार दिने गुलाफ लामो यात्रा गर्दै भारतबाट आइपुग्छन् । त्यही गुलाफ प्रेमको रुपमा हामी आफूलाई मनपर्ने व्यक्तिलाई दिन्छौँ ।

‘तिम्रो लागि आकाशका जुन–तार झारिदिन्छु’ भन्ने हामी आफूलाई मनपर्ने व्यक्तिको लागि एउटा गुलाफ पनि उत्पादन गर्न सक्दैनौं ।

नेपालमा प्रणय दिवसमा लाखौँ गुलाफका फूल प्रयोग हुन्छ । तर, नेपालमा भने निकै कम गुलाफ उत्पादन हुने गरेको छ । यसवर्ष प्रणय दिवसका लागि भारतबाट दुई लाख बढी स्टिक आयात गरिएको छ । गत वर्षको ‘भ्यालेन्टाइन्स–डे’मा १ लाख ८० हजार गुलाफका फूलको कारोबार भएको थियो । त्यसमध्ये ८० प्रतिशत गुलाफ भारतबाट आयात भएको थियो ।

गत वर्षभन्दा यो वर्ष भारतबाट ५० हजार बढी गुलाफ आयत गरिएको छ । कोरोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको कारण यसवर्ष गत वर्षभन्दा बढी गुलाफ आयात भएको व्यवसायी बताउँछन् ।

एउटा उखानै छ– ‘नेपालमा सियो पनि बन्दैन ।’ यो उखानमा मात्रै सिमित छैन, व्यवहारमै सावित हुन्छ । नेपाल अधिकांश वस्तुमा विदेशसँगै निर्भर छ । भारतमा पर्याप्त गुलाफको उत्पादन नहुँदा नेपालले नेदरल्यान्ड, इटली, अमेरिकाबाट ल्याउथ्यो । भारतमा गुलाफ उत्पादन हुन थालेपछि नेपालले हरेक वर्ष भारतबाटै ल्याउने गरेको छ ।

हामीले गुलाफजस्ता धेरैजसो फूल नेपाली बजारलाई पुग्ने उत्पादन गर्न सकेका छैनौँ । यसको मुख्य कारण हो, फूल उत्पादनको लागि आधुनिक प्रविधि नहुनु । हामीकहाँ चाहेको समयमा फूल उत्पादन गर्न सक्ने प्रविधि छैन ।

किसानले नयाँ प्रविधि अपनाउन सक्ने र उपभोक्ताले पनि स्वदेशी फूलको प्रयोग गर्ने हो भने धेरैजसो फूलमा आत्मनिर्भर हुन सक्छ । उत्पादन सम्भव भएका र उत्पादन भइरहेका वस्तु तथा सामग्रीको पर्याप्त उत्पादन गरेर आयात–निर्यातलाई सन्तुलनमा राख्न सकिन्छ ।

राजनीतिक दल बारम्बार उत्पादन र रोजगारी बढाउने कुरा गरिरहेका हुन्छन् । आत्मनिर्भरताको चर्को राजनीतिक नारा सुनिन्छ । तर, गुलाफको फूलमा समेत हामी परनिर्भर छौं । यसको कारण फूलको खेतीमा लाग्ने कृषक उद्यमीलाई सरकारले प्रोत्साहन नगर्नु नै हो । हामी पनि गुलाफको सौन्दर्यमा मख्ख परेरमात्र हुँदैन, व्यवस्थित खेती गरेर गुलाफबाट आर्थिक लाभ लिने प्रयास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्