Logo
Logo

नक्कली लाइसेन्स प्रकरण : यातायातका इञ्जिनियर र शाखा अधिकृत पक्राउ



काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् ।

यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

देशभरका यातायात कार्यालयबाट एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् ।

गत पुसमा यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट जारी भएको लाइसेन्सको डाटाबेसबारे अध्ययन गरेको थियो ।

अध्ययनमा ५ वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत्र(लाइसेन्स) जारी भएको भेटिएको थियो । तीबाहेक प्रदेश सरकार मातहतका यातायात कार्यालयहरुमा गडबड भएको भेटिएपछि जारी गर्ने तयारीमा रहेका करिब २३ हजार लाइसेन्स रोकिएका थिए ।

देशभरका ३५ वटा यातायात कार्यालयका प्रमुखलाई दिइएको मास्टर युजर आईडी र पासवर्डको दुरुपयोग गरी लाइसेन्स बाँडेको फेला परेको थियो । त्यो काममा विभागका इञ्जिनियर भट्टको पनि मिलेमतो देखिएको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो । भट्ट यातायात व्यवस्था विभागका करार इञ्जिनियर हुन् ।

प्रतिक्रिया दिनुहोस्