
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा आज बिहानबाट हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा लगाएको निषेधाज्ञा बिहान ६ बजेदेखि हटाएको हो ।
निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्न थालेको छ । गएको मंगलबार बेलुकी ७ बजेदेखि वीरेन्द्रनगरका मंगलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको थियो ।
गएको सोमबार एमसीसीको विरोधमा विभिन्न पार्टीले आह्वान गरेको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बनेपछि त्यही दिन राति सवा ८ बजेदेखि मंगलबार बेलुकी ७ बजेसम्म कर्फ्यु लगाइएको थियो ।
कर्फ्यु हटाएर सुरक्षाको दृष्टिकोणले संवेदनशील क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । शान्ति, सुरक्षाको स्थिति सामान्य बनेपछि निषेधाज्ञा पनि हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।











