Logo
Logo

कुलेखानीमा जलसतह बढ्यो, देउराली-सिस्नेरी सडक बन्द


0
Shares

काठमाडौं । लगातारको वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढ्नेक्रम नरोकिएपछि देउराली–सिस्नेरी सडकखण्डमा आज अपराह्न ४ बजेदेखि सवारी आवागमन बन्द गरिएको छ । मकवानपुर प्रशासनले आज अपराह्न ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा दुवैतर्फ सवारी सञ्चालन रोक्ने निर्णय गरेको हो ।

जलाशयको सतह निरन्तर बढिरहेको अवस्थामा रातिको समय आकस्मिक बाँधबाट पानी निकास गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले पूर्वसावधानीस्वरूप सवारी आवागमन बन्द गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

प्रशासनका अनुसार भैँसे हुँदै देउराली–सिस्नेरीतर्फ जाने तथा काठमाडौँको फर्पिङ हुँदै सिस्नेरी–देउराली–हेटौँडातर्फ आउने सवारीसमेत सो अवधिमा सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक रूपमा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने यात्रुलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ । उक्त राजपथमा पनि जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको समयतालिकाअनुसार मात्रै सवारी सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ ।

हाल कुलेखानी बाँधको ढोका खोलिएको नभई सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वसावधानी अपनाइएको छ । जलाशय र तल्लो तटीय क्षेत्रको अवस्थाको निरन्तर निगरानी भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्