Logo
Logo

भरतपुर अस्पतालः सेवा थपियो, थपिएन जनशक्ति


567
Shares

चितवन । सरकारले चार वर्षअघि अतिविशिष्ट सेवासहितको पाँच सय शय्याको केन्द्रीय अस्पताल बनाउने घोषणा गरेको भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति भने थप हुन सकेको छैन ।

त्यसयता दुईपटक आवश्यक जनशक्तिका बारेमा अध्ययन गरिए पनि कार्यान्वयन भने गरिएको छैन । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी सरकारले घोषणा गरे पनि जनशक्ति व्यवस्थापनमा ध्यान दिन नसकेको बताउँछन् । उनको भनाइ अनुसार सो अस्पताललाई आगामी पाँच वर्षभित्र एक हजार ३०० जनशक्ति आवश्यक पर्छ । हाल अस्पतालमा सरकारको १५० शय्या बराबरको जनशक्ति मात्रै छ, जबकि अस्पतालमा ६०० शय्या सञ्चालन गरिएको छ ।

सरकारले पाँच सय शय्याको संघीय अस्पताल घोषणा गरिसके पनि यसका लागि आवश्यक जनशक्ति नहुँदा दिनुपर्ने सेवा दिन कठिन भएको गुनासो गर्दै उनले भने, “ओएनएम सर्भेमा सुरुमा ७०० र थप गर्दै लगेर पाँच वर्षभित्र एक हजार ३०० जनशक्ति पुर्याउनुपर्ने उल्लेख छ ।” विसं २०७५ फागुन ३ गतेको मन्त्रिपरिषद्को बैठकले अन्य अस्पतालसँगै यस अस्पताललाई पनि अतिविशिष्ट सेवासहितको केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो । हाल अस्पतालमा ७५० कर्मचारी कार्यरत् रहेकामा १७५ दरबन्दी मात्र सरकारी हो । एकसय २० जना करार सम्झौतामा र बाँकी अस्पतालको विकास समितिबाट करार तथा दैनिक ज्यालादारीमा कार्यरत् छन् । त्यस्तै, ९२ विशेषज्ञसहित १२० चिकित्सक छन् ।

एकसय पचास दरबन्दी त जिल्ला अस्पताल हुँदाको अवस्थाको रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेल बताउँछन् । शय्या अनुसारको दरबन्दी नहँुदा सेवाप्रवाहमा असर परेकोे छ । सरकारले भौतिक पूर्वाधार र अन्य कुरामा चासो दिए पनि जनशक्ति थप गर्न नसकेको उनको गुनासो छ । हाल अस्पतालमा सरकारी ३०० शैया र अस्पताल विकास समितिको ३०० गरी ६०० शैया सञ्चालनमा छ । अस्पतालमा ३०० शैया हुँदाको दरबन्दीसमेत हालसम्म कार्यान्वयन हुन सकेको छैन । कर्मचारी थप्नुपर्ने विषयमा पटक-पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गरिएको मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. पौडेलको भनाइ छ ।

अस्पतालमा मेडिसिन, सर्जरी, गाइनो, जेरियाट्रिक, पेडियाट्रिक, अर्थोपेडिक्स, इएनटी, स्किन, रेडियोलोजी, प्याथोलोजी, साइकाइट्री, न्युरो सर्जरी, सिटिभिएस, डेन्टल, कार्डियोलोजी, आँखालगायत विभाग सञ्चालनमा छन् । अस्पतालमा दैनिक दुई हजारसम्म बहिरंगमा बिरामी आउने गरेका छन् । यहाँ १९ भन्दा बढी जिल्लाबाट बिरामी आउने गरेका अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए । विसं २०१३ मा १५ शय्याको हेल्थ सेन्टरको रुपमा स्थापना भएको यो अस्पताल ‘महेन्द्र आदर्श चिकित्सालय’ को नाममा २०२० पुस १४ गते स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्