Logo
Logo

पुँजी बजार सुधारका लागि तीन चरणको रणनीति सार्वजनिक


378
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणमा सुधार रणनीति सार्वजनिक गरेको छ ।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले आज अर्थ समिति समितिको बैठकमा बजारका सहभागी तथा सरोकारवालाको सहभागितामा नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिएर काम अघि बढाइएको जानकारी दिए ।

पुँजी बजार सुधारका लागि बोर्डले प्राथमिक र दोस्रो बजारका लागि छुट्टाछुट्टै सुधार समिति गठन गरेको छ । समितिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड, नेपाल उद्योग वाणिज्य महासंघ र मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधिहरु सहभागी छन् ।

बोर्डले सुधार प्रक्रियालाई पारदर्शी बनाउन चरणबद्ध विधि अपनाएको छ । सुरुमा कन्सेप्ट पेपर तयार गर्ने, त्यसपछि सम्बन्धित समितिमा छलफल गर्ने, सार्वजनिक परामर्शमार्फत सुझाव लिने र अन्तिममा नीतिगत व्यवस्था कार्यान्वयन गर्ने बोर्डको योजना छ ।

अध्यक्ष भट्टका अनुसार प्राथमिक बजारतर्फ आईपीओ निष्कासन, मूल्य निर्धारण (प्राइस डिस्कभरी), योग्य संस्थागत लगानीकर्ता, सेयर बाँडफाँट र म्युचुअल फन्डलगायत विषयमा सुधारका नीति तयार भइसकेका छन् । ती नीतिहरू बजारको तयारी र सहभागीको अवस्थालाई ध्यानमा राखेर क्रमशः कार्यान्वयन गरिनेछन् ।

‘प्राथमिक र दोस्रो बजार सुधारका लागि धितोपत्र बोर्डले छुट्टाछुट्टै सुधार समिति गठन गरी काम अघि बढाएको छ । सुधारका नीति तयार गर्दा सम्बन्धित बजार सहभागी र सरोकारवालाको सहभागिता सुनिश्चित गर्दै सार्वजनिक परामर्शमार्फत सुझाव लिने व्यवस्था गरिएको छ,’ अध्यक्ष भट्टले भने ।

उनका अनुसार दोस्रो बजारतर्फ ब्रोकर व्यवसायको पुनर्संरचनालाई प्राथमिकतामा राखिएको छ । पारिवारिक प्रकृतिको व्यवसायबाट ब्रोकर संस्थालाई व्यवस्थित उद्योगका रूपमा विकास गर्ने नीति बोर्डले अघि बढाएको छ ।

अब ब्रोकर कम्पनीलाई कार्यक्षमता र सेवा क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गरी स्टक डिलरसिपसहितको विस्तृत संरचनामा लैजाने योजना रहेको बोर्डले जनाएको छ ।

‘दोस्रो बजारतर्फ ब्रोकर व्यवसायलाई पारिवारिक प्रकृतिबाट व्यवस्थित उद्योगका रूपमा विकास गर्ने तथा क्षमता अभिवृद्धि गर्ने नीति ल्याइएको छ,’ अध्यक्ष भट्टले भने ।

नेप्सेको प्राविधिक सुधारमा जोड
बोर्डले दोस्रो बजारको प्रमुख पूर्वाधारका रूपमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सुधारलाई पनि प्राथमिकतामा राखेको छ ।

नेप्सेको ट्रेडिङ तथा अर्डर व्यवस्थापन प्रणाली, साइबर सुरक्षा र सूचना प्रविधिसम्बन्धी संरचनामा देखिएका कमजोरी सुधार गर्न आवश्यक नियामकीय व्यवस्था तयार पारिएको अध्यक्ष भट्टले बताए ।

उनका अनुसार नेप्सेसँग सम्बन्धित करिब ३१–३२ वटा नियामकीय व्यवस्था तयार गरी क्रमशः कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइएको छ ।

सरकारी स्वामित्वका संस्थाबीचको समन्वय अभाव र क्षेत्राधिकारसँग सम्बन्धित समस्या समाधान गर्दै नेप्सेको संस्थागत तथा प्राविधिक क्षमता सुधार गर्ने बोर्डको योजना छ ।

प्रतिक्रिया दिनुहोस्