Logo
Logo

स्थानीय तहको भूमिका जवाफदेहीपूर्ण हुनुपर्छ : प्रधानमन्त्री


315
Shares

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले सङ्घीय शासन प्रणालीसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको बताए ।

उनले भने, ‘नागरिकको नजिकको सरकार स्थानीय तह भएकाले यो सरकारसँग नागरिकको अपेक्षा धेरै हुनु स्वभाविक हो । सीमित साधनस्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ ।’

उनले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो छरितो ढंगले विना कुनै मरमोलाहिजा सम्पन्न गरी आमनागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य भएको बताए ।

नगरभित्र जनताको सुख सुविधाका लागि भौतिक पूर्वाधारको निर्माणदेखि नगरवासीलाई उपलब्ध गराउनुपर्ने सेवा सुविधा समयमै गुणस्तरीय ढङ्गले उपलब्ध गराउन नगरपालिकाले सक्दो पहल गरेको आफूले जानकारी पाएको बताउँदै उहाँले त्यसमा खुशी व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले नगरपालिकाले गरेका विकास निर्माणका काम र सेवा प्रवाहमा गरेको सुधारका विषय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको उल्लेख गर्दै भने, ‘नप्रतिनिधिले जनसवालका काम गरेर मात्र हुँदैन, काममा पारदर्शिता गुणस्तरीयता र जवाफदेहिता सुनिश्चितसमेत गर्न अत्यन्तै आवश्यक छ । त्यसैगरी गरेका कामको जानकारी नागरिकसम्म पु¥याउनु अत्यावश्यक छ ।’

अहिले हामी लामो समयको राजनीतिक सङ्क्रमण पार गरेर लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामार्फत देशलाई आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र समतामूलक समाज निर्माणको यात्रामा रहेको बताउँदै उनले यो यात्रा छिट्टै पुरा गरेर गन्तव्यमा पुग्न ढिलो गर्न नहुने बताए ।

प्रधानमन्त्री देउवाले देश अहिले स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेको र अबको निर्वाचनमा आफ्नो मत प्रयोग गरेर जनप्रतिनिधि छनौट गर्दा विगतमा भएका काम र जनताको हितमा गरेका कार्य नै जनप्रतिनिधि छनौटको मुख्य आधार हुने निश्चित हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्