Logo
Logo

अवरुद्ध प्रमुख राजमार्गहरू आजै सञ्चालनमा ल्याउने तयारी


567
Shares

काठमाडौं । अविरल वर्षा रोकिएसँगै अवरुद्ध प्रमुख राजमार्गहरू खुलाउने तयारी तीव्र पारिएको छ । पृथ्वी राजमार्ग लगायतका सडक खुलाएर आज दिउँसोसम्म गाडी सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

The current image has no alternative text. The file name is: chhapeli-pahiro.jpg

बुधवारदेखिको निरन्तर वर्षाका कारण राजधानीको लाइफलाइन मानिने पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायत देशभरका विभिन्न सडक अवरुद्ध भएका थिए ।आइतबारदेखि वर्षा कम भएपछि नारायणगढ–मुग्लिन सडक खण्ड खुलाएर पोखरातर्फ जाने सवारी साधन सञ्चालन सुरु गरिएको थियो ।

मुग्लिन–काठमाडौं खण्डमा पनि अधिकांश स्थानमा पहिरो पन्छाएको थियो भने कतिपय ठाउँमा सडक एकतर्फी मात्र सञ्चालनमा थियो ।आइतबार साँझ बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारामा ठूलो ढुङ्गासहित पुनः पहिरो खसेकाले दुवैतर्फको बाटो अवरुद्ध भएको छ । उक्त पहिरो पन्छाएर काठमाडौं जोड्ने प्रमुख राजमार्ग पूर्ण रूपमा खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । राति पहिरो हटाउन सम्भव नभएकाले आज बिहानैदेखि सफाइ कार्य सुरु गरिनेछ । सडक खुले पनि कृष्णभिर क्षेत्रको अवस्था हेरेर मात्र गाडी सञ्चालन गर्ने कि नगर्ने निर्णय लिइने प्रहरीले जनाएको छ । 

अविरल वर्षासँगैको बाढीपहिरोले कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोरअन्तर्गतको मूलघाट–फिदिम, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग र भालुबाङ–चकचके–लिवाङ सडक खण्डका विभिन्न स्थानमा पनि पहिरो खसेका छन् । यी सडकहरूमा पहिरो हटाएर वा कतिपय स्थानमा डाइभर्सन बनाएर सवारी आवागमन सुचारु गर्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्