रौतहट । स्रोत नखुलेको रकमसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । मोटरसाइकलमा लुकाएर ल्याएको करिब १९ लाख रुपैयाँसहित बिहारको पूर्वी चम्पारन जिल्ला, घोडाशन थाना क्षेत्रअन्तर्गत महुअवा गुरेनवा–२ का दिपनारायण प्रसादलाई पक्राउ गरिएको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक पंकजकुमार सिंहको कमान्डमा सादा पोशाकका गएको सशस्त्र प्रहरीको टोलीले बौधिमाई नगरपालिका–९ बाट १८ लाख ७३ हजार रुपैयाँसहित प्रसादलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी ध्रुव कार्कीका अनुसार भारतीय बजारबाट ठूलो परिमाणमा स्रोत नखुलेको नेपाली रुपैयाँ ल्याइरहेको सूचनाको आधारमा गएको टोलीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलमा लुकाएर ल्याएको पाइएको हो ।
बरामद रकमसहित प्रसादलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको छ ।












