काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जाँदा ‘स्वाहा’ हुने डर भएकाहरु चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको बताएका छन् ।

शनिबार नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतामा जान डराएर प्रचण्ड–माधव समूहले प्रतिगमन भन्ने गरेको आरोप लगाए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको सरकार पाँच जना न्यायाधीशले नियुक्त गरेको ‘बालुवाको मूला’जस्तै भएको बताउँदै यसलाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिने बताए । अबको चुनावमा एमालेले ‘स्वीप आउट’ गर्ने उनले दावी गरे ।
सत्ता गठबन्धनलाई लक्षित गर्दै ओलीले भने, ‘यिनीहरु चुनावबाट भाग्न खोज्दैछन्, भागेर कहाँ जान्छौँ ? चुनाव त गराउनैपर्छ । त्यहीबेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौँ ।’
उनले परमादेशबाट एमालेलाई हटाइएको बताइएको भन्दै थपे, ‘अब रोकिन्छ भन्ने नसोचे हुन्छ । एमाले एउटा भेल हो, यो भेल अगाडि आउँदैछ ।’
उनले दिनहुँ एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको र आजै पनि बरामा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहितलाई प्रवेश गराउने आफू जान लागेको बताए ।














