Logo
Logo

हिउँदे अधिवेशनले पहिचानसहितको प्रदेश नामाकरण गर्छः मन्त्री आङ्बो


504
Shares

पाँचथर । किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिवेशन पाँचथरको सदरमुकाम फिदिममा सुरु भएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शनिवार उद्घाटन गरेका थिए । त्यसक्रममा मन्त्री आङ्बोले जारी हिउँदे अधिवेशनबाट प्रदेश नं १ लाई पहिचानमा आधारित नामाकरण गर्ने प्रतिबद्वता जनाएका छन् । प्रदेश सरकारले नामाकरणका लागि पहल थालेको उनको भनाइ थियो । विभिन्न भाषा, संस्कृतिको प्रवद्र्धनमा प्रदेश सरकारले काम गरिरहेको पनि मन्त्री आङ्बोले बताए ।

सामाजिक संस्थाका रुपमा स्थापित कियाचुले एक नम्बर प्रदेशलाई ऐतिहासिक पृष्ठभूमिका आधारमा ‘लिम्बूवान’ नामाकरण गर्न माग गर्दै आएको छ । लिम्बूहरुको साझा संस्था चुम्लुङको अधिवेशनमा नीति, कार्यक्रम तथा आगामि योजनाबारे छलफल हुने बताइएको छ । चुम्लुङको महाधिवेशनमा १ नम्बर प्रदेशका पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी, मोरङ, झापा, इलामसहित काठमाडौं, ललितपुर र भक्तपुरसहित वैदेशिक प्रतिष्ठानबाट ४ सय प्रतिनिधिले नेतृत्व चयन प्रक्रियामा भाग लिइरहेका महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन् । उद्घाटन समारोहमा लिम्बू संस्कृतिमा आधारित भेषभूषामा सजिएका किराँत लिम्बूहरुको बाक्लो उपस्थिति थियो ।

सो अवसरमा कियाचु युवराज पत्रकारिता पुरस्कार २०७८ द्धारा २०५६ सालदेखि निरन्तर रुपमा लुङा पत्रिका प्रकाशन गरी लिम्बू भाषा र साहित्य खोजमूलक लेख रचाना, समाचार प्रकाशन र लिपी विकासका लागि अहम् भूमिका निर्वाह गरेको भन्दै सञ्चारकर्मी सेसेमी से–नाल्बोलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा लिम्बू भाषाको कक्षा ६ देखि ८ को पाठ्यपुस्तक, कियाचु गतिविधि २०७४–२०७८ स्मारिका, दोस्रो राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठि २०७८ को अनुभव संगालो ताक्लुङमा मुन्धुम, दोस्रो राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठि २०७८ को ताक्लुङमा मुन्धुम भिडियो, मधुराज केरुङको लिम्बू कविता संग्रह तुम्दुङसेरी र याक्थुङ मुन्धुम युनेस्कोमा दर्ज निर्मित तङ्सिङ याक्थुङ मुन्धुम भिडियो छ वटा तथा पुस्तक विमोचन समेत गरिएको थियो ।

केन्द्रीय अध्यक्ष योगराज वनेम लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्याल, जसपा नेपाल लिम्बूवान राष्ट्रिय समिति सचिव शर्मिला आङ्देम्बे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रान्तिय लिम्बूवान मञ्च महासचिव अशोक चेम्जोङ, नेपाली कांग्रेसका सभापति रुपनारायण जवेगू, नेकपा माओवादी केन्द्रका पाँचथर संयोजक होमबहादुर जवेगू, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कमल जवेगू, जसपा नेपाल पाँचथर अध्यक्ष लक्ष्मण लाओती, कियाचु पूर्व केन्द्रीय सचिव नरेन्द्रकुमार केरुङ, कियाचु लिम्बूवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङ, नेवाल्याण्ड प्रदेश अध्यक्ष भीम नेम्बाङ, नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष गिरिराज बाँस्कोटा र सम्मानित सेसेमी सेनाल्बोलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्