
गण्डकी । पोखरा महानगरपालिका–११ रानीपौवामा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निः शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
मार्गदर्शन महिला समूहद्वारा आयोजित सो शिविरमा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आर्थिक सहयोग गरेका थिए । उनले प्रदेशसभा सदस्य भएदेखिनै आफूले पाउने तलब, भत्ताबापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएका थिए । शिविरको शुभारम्भ गर्दै मन्त्री थापाले प्रदेश सरकारले समेत क्यान्सर तथा पाठेघर मुखको क्यान्सरबाट पीडित महिलालाई उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिए ।
त्यस्ता बिरामीलाई संघीय सरकारले रु. एक लाख र प्रदेश सरकारले रु. ५० हजार उपचारार्थ उपलब्ध गराउँदै आएको छ । शिविरमा गण्डकी मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा. अनु हीराचनसहितको स्वास्थ्यकर्मीको टोलीले १६१ जना महिलाको स्वास्थ्य परीक्षण गरेको थियो । सो अवसरमा १० महिलाको थप उपचार गर्नुपर्ने देखिएकाले अस्पतालमा सिफारिस गरिएको कार्यक्रम संयोजक अंशु शेर्पाले जानकारी दिइन् । कार्यक्रममा आवश्यक औषधि पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले उपलब्ध गराएको शाखा प्रमुख सविना श्रेष्ठले जानकारी दिइन् ।
पोखरा महानगरपालिका–११ का वडाध्यक्ष मोहन बाँस्तोलाले मार्गदर्शन महिला समूह समाजका लागि एक उदाहरण बनेको उल्लेख गर्दै शिविरबाट समाजका विपन्न एवं असहाय वर्गले बढी फाइदा लिने गरेको बताइन् । कार्यक्रममा नेपाली कांग्रेस पोखरा महानगरपालिका–११ का सभापति हरिप्रसाद बाँस्तोला र स्थानीय समाजसेवी प्रेम कर्माचार्यलगायतले क्यान्सर रोग र शिविरको महत्वमाथि प्रकाश पारेका थिए ।











