Logo
Logo

अर्थमन्त्री वाग्ले र एआइआइबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता


252
Shares

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र बैङ्ककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ ।

The current image has no alternative text. The file name is: wakle-5.jpg

कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डा वाग्लेले नेपालमा एआइआइबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनःनिर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैङ्ककी अध्यक्ष जियायीलाई आग्रह गरेका अर्थमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटका क्रममा एआइआइबीकी अध्यक्ष जियायीले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गरे । उनले विपद्पछिको पुनःनिर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 

अध्यक्ष जियायीले बैङ्कले ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फण्ड’मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउनेछ । साथै, स्पेसलाइस्ड फण्ड विन्डो अन्तर्गतको अनुदान प्रयोग गरी एआइआइबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उनले व्यक्त गरे । 

अर्थमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एआइआइबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले दोहोर्याए । सो अवसरमा अर्थमन्त्रीले नयाँ अध्यक्ष जियायीलाई बधाई दिँदै बैङ्कले संस्थापक सदस्यका रूपमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । उनले एआइआइबीको लगानीमा हाल सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरे । साथै, बैङ्कको लगानी रहेको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा बाढीले पुर्‍याएको क्षतिप्रति उनले दुःख व्यक्त गरे ।

अर्थमन्त्री डा वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैङ्कको आफ्नै स्रोतका साथै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गरिदिन आग्रह गरे । छलफलकै क्रममा अर्थमन्त्री डा वाग्लेले अध्यक्ष जियायीलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्