
काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो ।
सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत पाए । रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो । उपसभापतिमा भने संस्थापनइतरका नविन अधिकारी १ हजार ४९३ मतसहित विजयी भए । उपसभापतिमै संस्थापनबाट डा. सरोज कुमार (राजु) १ हजार ७६४ मतसहित विजयी भएका छन् ।
सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भए । सहसचिवमा संस्थापनकै इन्द्रबहादुर योञ्जन १ हजार ७११ र सुनिलकुमार कुशवाहा १ हजार ५७९ मतसहित विजयी भएका छन् । कांग्रेस अधिवेशनका जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले विजयी सभापति सिंहसहित पदाधिकारीलाई बधाई ज्ञापन गरे ।
त्यस्तै, कांग्रेस बाराको सभापतिमा राजेशराय यादव एक हजार २०६ मतप्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाएका थिए । प्रमुख निर्वाचन अधिकृत गंगेश्वरप्रसाद अधिकारीले मतदानका क्रममा २९ मत बदर भएको जानकारी दिए । नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यतm गरे । उनले भने, “ स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ ।”
यसैगरी, कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर लामा ९१२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको जनाइएको छ ।











