Logo
Logo

अचानक भत्कियो अमर नारायण मन्दिर


शंकरमान सिंह


तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको अमर नारायण मन्दिर अचानक भत्किएको छ । मन्दिरको दक्षिण र पूर्वतर्फको मध्य छानासहितको भाग भत्किएको हो । अचानक पहिले पूर्वतर्फको भाग भत्किएलगत्तै दक्षिण तर्फको भाग पनि भत्किएको छ ।

मन्दिरको पूर्व–दक्षिण भाग भत्किएर पछि नारायण मन्दिर कुरुप देखिएको छ । करिब ६ वर्ष अगाडि मात्र तानसेन नगरपालिका र पुरातत्व विभागको सहयोगमा उक्त मन्दिरको जिर्णोद्वार गरेर गजुरमा सुनको लेपन गरिएको थियो । मन्दिरमा पुरातात्विक महत्वका बहुमूल्य काठका टुडालहरु रहेका छन् । मन्दिरको छानो भत्किएपछि अहिले सर्वसाधारणहरुलाई मन्दिर प्रवेशमा रोक लगाइएको छ । मन्दिरको पश्चिम र उत्तरतर्फको छानो पनि भत्किने अवस्थामा छ । मन्दिरमा सर्वसाधारण तथा पुजारी नभएको बेलामा छानो भत्किँदा मानवीय क्षति भने भएको छैन ।

पाल्पाको रणउजेश्वरी भगवती मन्दिरभन्दा पनि पुरानो नारायण मन्दिर भएकाले तत्काल जीर्णोद्वारका लागि तीनवटै सरकारले ध्यान दिनुपर्ने भएको छ । मन्दिरका महत्वपूर्ण सरसमानको तत्काल रेकर्ड राखी सुरक्षित स्थानमा राख्नुपर्ने, भत्किएको मन्दिरमा पैसा बाट किन्न नपाईने अमुल्य सरसमान भएकोले २४ सै घण्टा सुरक्षाकर्मी तथा सिसी क्यामेराबाट मन्दिरको निगरानी गर्नुपर्ने सम्बन्धित सरोकारवाला अधिकारीहरु भन्छन् ।

अमर नारायण मन्दिर क्लासिक तीन तहको, प्यागोडा शैलीको काठको मन्दिर हो । यो मन्दिर तानसेनको पहिलो गभर्नर अमरसिंह थापाले सन् १८०७ मा बनाएका थिए र यसलाई काठमाडौं उपत्यका बाहिरका सबैभन्दा सुन्दर मन्दिरहरूमध्ये एक मानिन्छ ।

संरक्षक देवता भगवान् विष्णुको सम्मानमा घिउको दियो प्रज्वलन गर्न भक्तहरू हरेक साँझ यहाँ आउँछन् । २१ वटा सिँढी भएको अमर नारायण मन्दिर जाने सिँढीको सुरुमा शिव महादेव मन्दिर छ ।

स्मरणरहोस, अमरनारायण मन्दिर नेपालको लुम्बिनी प्रदेशको पाल्पा जिल्लामा अवस्थित विष्णु मन्दिर हो । विसं १९६३ मा अमरसिंह थापाले सुन्दर बगैँचा र अटुट पानीको मुहान नजिकै उक्त कलात्मक मन्दिर निर्माण गरेका थिए । भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा छ । मन्दिर सञ्चालन गर्नका लागि गुठीका व्यवस्थासमेत गरिएको छ ।

नेपाल एकीकरणको सिलसिलामा सबैभन्दापछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमको रूपमा जनरल अमरसिंह थापा आएका थिए । यिनैले विसं १८६३ मा वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी यो मन्दिर निर्माण गराएका थिए ।

यो मन्दिर बनाउन काठमाडौंका नेवार कालीगढहरु झिकाएका थिए । तानसेनमा काठमाडौँ, भक्तपुरबाट बसाइँसराइ गरेर गएका नेवार समुदायले आफ्नो टोलको नाम पनि असन, मखन, वसन्तपुर, भीमसेन टोल आदि नाम राखेका छन् । यस मन्दिरमा पनि कीर्तिपुरको उमामहेश्वरको मन्दिरमा जस्तै पेगोडा शैलीको टुँडालको पुछारमा विभिन्न आसनमा कामक्रिडाका चित्रहरु कुँदिएका छन् । जसले गर्दा चट्याङ पर्दैन भन्ने मान्यता छ ।

विगतमा तानसेन नगरपालिकाले तानसेनस्थित ऐतिहासिक अमरनारायण मन्दिर क्षेत्रको संरक्षण गरेको थियो । मन्दिर क्षेत्रको जग्गामा स्थानीय बासिन्दाबाट अतिक्रमण भएको छ । स्थानीयले मन्दिरको जग्गा अतिक्रमण गरेपछि २०७६÷७७ मा तानसेन नगरपालिकाको रु ११ लाख २५ हजार बजेटमा मन्दिर आसपास क्षेत्रमा तार जाली लगाई जथाभावी प्रवेशलाई रोकिएको छ । उत्तरतर्फको नापी कार्यालयदेखि धवल पुस्तकालयसम्मको क्षेत्रमा तारबार गरी फोहोर फाल्न र मन्दिर क्षेत्रमा जथाभावी रुपमा प्रवेश रोकिएको थियो । ‘आठ फिटको तारजाली लगाउने गरी काम सम्पन्न भएको थियो ।

सोही मन्दिर क्षेत्रमै हनुमान र नौग्रहको मन्दिर पनि निर्माण गरिएको छ । मन्दिर क्षेत्रको करीब २७ रोपनी जग्गामा १२ टोल विकास संस्थाले फलफूल रोपेर सुन्दर बनाउने कार्यक्रम अनुरुप केही कार्य भएको छ ।
पाल्पा तानसेनको अमर नारायण मन्दिर झण्डै २१२ वर्ष पुरानो हो । अंग्रेजलाई पराजित गरेपछि निर्माण गरिएको सो मन्दिर अहिले जीर्णोद्वार गर्ने भन्दै लथालिंग बनाइएको समाचार केही वर्ष अगाडि सार्वजनिक भएको थियो ।

यस मन्दिरको जीर्णोद्वार विश्व बैंकको ६० प्रतिशत ऋण ४० प्रतिशत अनुदानमा निर्माण सुरु गरिएको थियो । २०७० साल असारमा सम्झौता भएर २०७२ साउनमा निर्माणकार्य पूरा गर्ने गरी ठेक्का सम्झौता भएको थियो । करिब ३ करोड ५० लाख लागतमा निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले नक्साको डिजाइनअनुसार काम नगरेको र गुणस्तरहीन सामग्रीको प्रयोग गरेको स्थानीयवासीको भनाइ रहेको छ ।

मन्दिरको जीर्णोद्वार गर्ने नाममा झन् धरापमा परेको र पुरानो संरचना भत्काएर इतिहास नै मेटाउन खोजेको सरोकारवालाले त्यतिबेला नै बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्