
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फागू पूर्णिमा अर्थात होली पर्वले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ बनाउने बताएका छन् । आज फागू पर्व विशेष शुभकामना सन्देश जारी गर्दै उनले समाजवादको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपाली एकजुट भएर अघि बढ्न फागू पर्व प्रेरक बन्ने अपेक्षा समेत गरेका छन् ।
मुख्यमन्त्री पाण्डेद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालीहरुले तराई तथा पहाडमा हर्षोल्लास पूर्वक मनाउने रंगहरुको महान पर्व फागू पूर्णिमा (होली) को अवसरमा स्वदेश तथा प्रवासमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’ उनले धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा मनाइने यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मेलनमा महत्वपूर्ण योगदानका साथै सांस्कृतिक पर्यटनको विकासमा समेत सघाउ पुग्ने उल्लेख गरेका छन् ।
‘असत्य माथि सत्य र खराबमाथि असल पक्षले विजय हासिल गरेको रुपमा लिइने होली पर्व देशभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्वमा खेलिने रंगहरुको यो पर्वले हामी मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन र जीवनप्रति आत्मविश्वास बढाउन पनि प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु । पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि एक आपसमा भेला भई रंगहरु लगाई हर्षोल्लासका साथ मनाउने प्रचलन रहि आएको छ । यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।’, विज्ञप्तिमा भनिएको छ ।
उनले बागमती प्रदेशभित्र बसोबास गर्ने विभिन्न जातजातिका संस्कृतिहरुको संरक्षण तथा सम्वद्र्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकार सधैँ प्रतिबद्ध रहने समेत बताएका छन् ।












