
मकवानपुर । सिमेन्ट उद्योगमा काम गरिरहँदा मेसिनको फित्तामा बेरिएर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–१६ हटियामा सञ्चालित शिवम् सिमेन्ट उद्योगका एक भारतीय मजदुर काम गर्ने क्रममा मेसिनको फित्तामा बेरिएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मेसिनको फित्तामा बेरिएर घाइते भएका करिब २० वर्षीय रकिव अख्तरको उपचारका क्रममा मृत्यु भएको हो ।
आज बिहान सिमेन्ट उद्योगको रोलर सफा गर्ने क्रममा मेसिनमा परेर घाइते भएका उनको हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउँदै उनले प्रहरीले घटनास्थल र शवको मुचुल्का उठाउने काम गरिरहेको जानकारी दिए ।
उनका अनुसार घटनास्थलको प्रक्रिया पूरा भएपछि शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइनेछ ।












