Logo
Logo

ट्रम्पले सी जिनपिङलाई सोधे- हामीसँग हतियार किन्नुहुन्छ ?


315
Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई हतियार बिक्री गर्ने अमेरिकी निर्णयको बचाउ गर्दै यसलाई ठूलो मुद्दा नबनाउन चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आग्रह गरेको खुलासा भएको छ।

फक्स न्युजको ‘फक्स न्युज सन्डे’ कार्यक्रममा प्रस्तोता शानन ब्रिमसँग कुरा गर्दै चीनका लागि अमेरिकी राजदूत डेभिड पर्दुले यस कुराको खुलासा गरेका हुन्। राजदूत पर्दुले भने, “एक भेटमा राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘हेर्नुस्, हामी संसारभर हतियार बेच्छौँ। यो सामान्य विषय हो।’ उनले एक चरणमा राष्ट्रपति सीलाई नै सोधेछन्, ‘के तपाईं पनि केही किन्न चाहनुहुन्छ ?’”

तर, ट्रम्पले यस्तो प्रस्ताव कहिले गरेका थिए भन्नेबारे राजदूत पर्दुले मिति वा विस्तृत विवरण खुलाएनन्। केही दिनअघि मात्रै चिनियाँ राष्ट्रपति सीले वासिङ्टन भ्रमण गरेका थिए। त्यस क्रममा ट्रम्पले उनको भव्य स्वागत गर्दै ‘गार्ड अफ अनर’ समेत प्रदान गरेका थिए।

अमेरिकाले ‘एक चीन नीति’ मान्ने भएकाले ताइवानसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध राख्दैन। अर्थात्, अमेरिकाले ताइवानलाई स्वतन्त्र देशको मान्यता दिएको छैन। तर, सन् १९७९ को ‘ताइवान रिलेसन्स एक्ट’अन्तर्गत ताइवानको आत्मरक्षाका लागि भन्दै अमेरिकाले अनौपचारिक च्यानलबाट हतियार बेच्दै आएको छ। ताइवानको मुख्य हतियार आपूर्तिकर्ता नै अमेरिका हो।

चीनले भने अमेरिकी कदमप्रति निरन्तर आपत्ति जनाउँदै आएको छ। ताइवानको विषय नसल्टिएसम्म दुई देशबीचको सम्बन्ध सुमधुर हुन नसक्ने चीनको तर्क छ। गत मे महिनामा ट्रम्पको बेइजिङ भ्रमणका बेला पनि सीले यो विषय उठाएका थिए। उनले अमेरिकालाई ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता स्मरण गराउँदै आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न दबाब दिएका थिए। ताइवान मुद्दा चीन–अमेरिका सम्बन्धको ‘रेडलाइन’ भएको समेत उनले स्पष्ट पारेका थिए।

उक्त भेटपछि अमेरिकाले ताइवानलाई बिक्री गर्न लागेको १४ अर्ब डलरबराबरको हतियार प्याकेज रोकेको थियो। गत साता ह्वाइट हाउसमा भएको सीको राजकीय भ्रमणका क्रममा पनि उनले ट्रम्पसँग ताइवानको स्वतन्त्रताको विरोध गर्न आग्रह गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

कार्यक्रममा प्रस्तोता ब्रिमले ताइवानमाथिको चिनियाँ आक्रमणको सम्भावित खतरा र रोकिएको हतियार प्याकेजबारे राजदूत पर्दुसँग जिज्ञासा राखेकी थिइन्। जवाफमा पर्दुले ताइवान मामिलामा ट्रम्पले जति कडा अडान हालसम्म कसैले पनि नराखेको दाबी गरे। ताइवानलाई आवश्यक पर्ने पर्याप्त हतियार अमेरिकाले पहिल्यै बिक्री गरिसकेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्