Logo
Logo

चोलेन्द्र पक्राउ प्रकरण- संसदमा विपक्षी आगो, रास्वपा सांसदहरू मौन


378
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कारण नखुलाई पक्राउ गरेर छाडिएको विषय संसदमा पुगेको छ ।
शनिबार राति निवासमै सुतिरहेका चोलेन्द्रलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घरबाटै नियन्त्रणमा लिएको थियो । प्रष्ट कारण र आधार बेगर पूर्वप्रधानन्यायाधीश जस्तो विशिष्ट व्यक्तिलाई नियन्त्रणमा लिएर छाडिएको भन्दै संसदमा विपक्षी दलका सांसदहरुले प्रश्न उठाए ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरुले सरकारले राज्य आतंकको बर्बर नमुना देखाएको समेत आरोप लगाए । राति नियन्त्रणमा लिएको प्रहरीले जबरालाई ११ घण्टापछि दिउँसो परिवारको जिम्मा लगायो । यस विषयमा विपक्षी दलका सांसदहरुले संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ मागिरहदाँ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भने मौन रहे ।

रास्वपाका सांसदहरूले आकस्मिक समयमा जनजीवनको विषय उठाए । बाढी र पहिरोको क्षति र आवश्यक सतर्कताको विषय उठाए । तर, चोलेन्द्रशमशेर प्रकरणबारे रास्वपा सांसदहरू मौन रहे । जबरा कुन कसुर र के पुर्जीको आधारमा समातिएका हुन् भन्नेबारे प्रहरीले प्रष्ट खुलाएको छैन । यसबारे सरकारी निकायहरूले पनि आधिकारिक रुपमा केही बोलेका छैनन् । तर, संसदमा नबोलेका रास्वपाका कतिपय सांसदले सामाजिक सञ्जालमा भने लेखेका छन् ।

रास्वपाकी सांसद रञ्जु दर्शनाले फेसबुकमार्फत कसुर देखिए पक्राउ गर्न पाइने भए पनि पक्राउ गर्ने क्रममा कानुनी प्रक्रिया र प्रमाणको आधार महत्वपूर्ण हुने बताएकी छन् । ‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ । तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ । आरोप मात्र पर्याप्त हुँदैन; कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ ।’

उनले कानुनको शासनको मूल मर्म अधिकारको प्रयोग गर्दा विधि, प्रक्रिया र प्रमाणको पालना गर्नु रहेको उल्लेख गरेकी छन् ।
‘कानुनको शासन भनेकै यही हो । अधिकार प्रयोग गर्न पाइन्छ, तर विधि र प्रमाणबिना होइन,’ दर्शनाले भनेकी छन् ।

दर्शनाले आफ्नो स्टाटसमा राणालाई ‘सुरक्षित स्थानमा केही समयको स्थानान्तरण गर्न गरिएको पक्राउ’ भनेर उल्लेख गर्दै उनको सुरक्षाका लागि सतर्कता बढाउन पनि आग्रह गरेकी छन् । साथै, कुनै पनि ‘जेनेरेशन’ले उनलाई धम्की दिन नसक्ने अवस्था बनाउनुपर्ने उनको भनाइ छ ।

पूर्वप्रधानन्यायाधीश जबरालाई नेपाल प्रहरीको अपराधन अनुसन्धान कार्यालय टेकुले शनिबार मध्यरात नियन्त्रणमा लिएको थियो । मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न दिएको दिएन । आइतबार दिनभरजस्तो कार्यालयमा राखेर अपराह्नतिर आफन्तको जिम्मा लगाइएको थियो ।

उनलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले ‘सुरक्षा थ्रेट’ देखिएपछि सुरक्षित स्थानमा राखिएको तर्क गरेको थियो । प्रहरीको यो शैलीको कानुन व्यवसायी र राजनीतिक दलका नेताहरुले आलोचना गर्दै आएका छन् । मानव अधिकार आयोगले समेत विज्ञप्ति जारी गरेको प्रहरीको आलोचना गरेको थियो ।

यो विषयमा रास्वपाका अर्का सांसद राजीव खत्रीले पनि सामाजिक सञ्जालमा लेखेका छन् । ‘चोलेन्द्र पक्राउबारे प्रहरीले भन्यो– ‘सुरक्षा थ्रेट’ भन्दै उनले लेखेका छन्, ‘तर पक्राउको कारण गोप्य राखेर छोडियो भनियो । चोलेन्द्र माथिको सुरक्षा खतरा कसरी ट¥यो पत्तै पाइएन ।’

यहाँनेर उनले सरकारलाई ब्यङ्ग्य नै गरेका छन्, ‘चोलेन्द्रको घर डुबानको उच्च जोखिममा थियो– बगाउने खतराका कारण बेलैमा सुरक्षित स्थानमा सारियो– अहिले वर्षा रोकियो– टन्टलापुर घाम लाग्यो अनि परिवारको जिम्मा लगाएर पठाइयो’ भन्ने कुरा पनि आखिर हैन रहेछ ।’

अनि राज्यको भूमिका के हो भनेर व्याख्या गरेका छन् । ‘कुनै नागरिकले असु’रक्षा महसुस गरे सुरक्षाको प्रत्याभूति गराउने काम राज्यको हो । तर प्रहरीले जसरी अपह’रणको शैलीमा घरबाट उठायो यो तरिका सहि भएन’ उनले भने ।

यहाँनेर उनले विगतमा रास्वपा सभापति रवि लामिछाने पक्राउ स्मरण गरेका छन् । ‘हिजो सभापति रवि लामिछानेमाथि गरिएको अपहरणको शैली पनि गलत थियो र आज चोलेन्द्र शमशेर राणामाथि पनि गलत नै भयो’ उनले लेखेका छन् ।

कसैले पनि गलत गरेको छ भने कारबाही गर्न सकिने तर त्यसको विधि र प्रक्रिया अपनाउनुपर्ने उनको आग्रह छ ।
‘चोलेन्द्रका कर्मलाई लिएर हजार प्रश्न गर्न सकिन्छ । नैतिक तथा आर्थिक पतन भएको छ भने बेहिसाब समातिनु पर्छ’ उनले लेखेका छन्, ‘त्यस्तै प्रकृतिका कथित नेताहरु पनि पक्रिनु पर्छ । तर पक्राउ पुर्जीसमेत नदिई मध्यारातमा समात्नु गलत भो ।’

यहाँनेर उनी थप्छन्, ‘आई एम द मोनार्क अफ अल आई सर्भे’ भनियो भने सरकार र कानुन प्रतिको भरोसा भुत्ते हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्