काठमाडौं । महाकाली नदीमा भारतले एकर्तर्फी रुपमा बनाइरहेको पक्की तटबन्धको विषयमा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री बालकृष्ण खाँण र परराष्ट्रमन्त्री डा. नारायण खड्काको ध्यानाकर्षण गराएका छन् ।

दार्चुला सदरमुकामनजिकै महाकाली नगरपालिका–४ बाँगाबगरमा नेपाल–भारतको सीमा महाकाली नदी पारी भारतीय पक्षले पक्की तटबन्धन बनाइरहेको छ । उक्त कार्य तत्काल रोक्न स्थानीय प्रशासनले अनुरोध गरेपनि भारतले काम रोकेको छैन ।
स्थानीय प्रशासन र स्थानीय जनताको अवरोधलाई अटेरी गर्दै आएपछि मन्त्री बडूले दुवैतर्फका जनताबीच ढुङ्गा हानाहानको अप्रिय अवस्था सृजना भएकोतर्फ ध्यानाकर्षण गराएका हुन् । उनले मित्रता र आपसी सम्बन्धलाई थप बिग्रन नदिनतर्फ सचेत हुनसमेत आग्रह गरेका छन् ।











