
जाजरकोट । नेकपा एकीकृत समाजवादी जाजरकोटको अध्यक्षमा कमान खड्का चयन भएका छन् । बुधबार खलंगामा सम्पन्न जिल्ला कमिटीको तेस्रो बैठकले खड्कालाई अध्यक्षको जिम्मेवारी दिएको हो । खड्का यसअघि उपाध्यक्ष थिए ।
एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको उपस्थितिमा सम्पन्न बैठकले खड्कालाई अध्यक्षको जिम्मेवारी दिएको जिल्ला कमिटी सचिव गंगाबहादुर शाहीले जानकारी दिए । खड्काले अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सबैलाई धन्यवाद दिँदै पार्टी निर्माणमा कटिबद्ध भएर लाग्ने बताएका छन् ।
विशेष परिस्थितिमा प्राप्त भएको यो महत्त्वपूर्ण जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने र समाजवादको यात्रामा निरन्तर लागिरहने खड्काको प्रतिवद्धता छ । ६ महिनाअघि जाजरकोटमा नेता कृष्ण बिसीको नेतृत्वमा एकीकृत समाजवादी गठन गरिएको थियो ।
बिसी हाल एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज छन् । जिम्मेवारी ग्रहण गरेको ६ महिनामा ६ नगर गाउँ कमिटी, ३१ वडा कमिटी, १७ टोल कमिटी, ८ जनवर्गीय र पेशागत संगठन निर्माण गरि परिचालित भएका बिसीले बताए ।
अहिले सम्ममा एक हजार २ सय पार्टी सदस्यता अद्यावधिक भएको बताईएको छ । जिल्ला कार्यालय, सचिवालय, ८ विभाग र अधिकांश फाँटहरुको पनि कार्यविभाजन गरिएको बिसीले बताए ।
‘बुद्धिजीवी परिषद्, सल्लाहकार र जेष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व चयन गरिएको छ । कार्यालय र आन्तरिक अभिलेख उत्तिकै चुस्त बनाइएको छ’, बिसीले भने ।
अध्यक्षको जिम्मेवारी पाएका खड्का जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । साविक खलंगा गाउँ विकास समितिको उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका खड्का जाजरकोट उद्योग वाणिज्य संघमा लामो समय नेतृत्व गरेका थिए ।











