
काठमाडौं । मुलुकमा जति पनि राजनीतिक परिवर्तन भएको छ, त्यसको जग वाम–लोकतान्त्रिक शक्तिबीचको एकता र सहकार्य नै हो ।
राणा शासन, पञ्चायती व्यवस्था र शाही शासन ढाल्नदेखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्दासम्म संयुक्त आन्दोलनले नै मुख्य भूमिका खेलेको छ । परिवर्तनकारी शक्तिहरू छुटिदा प्रतिगामी शक्तिले अनेक आवरणमा शिर ठडाएको इतिहास छ ।
अहिले पनि कम्युनिष्टको आवरणमा प्रतिगामी शक्ति सल्बल्याएको हुँदा वाम–लोकतान्त्रिक शक्तिबीचको सहकार्य अपरिकार्य छ ।
मुलुकमा प्रतिगमन हुँदा राजनीतिक मतभेद हुँदाहुँदै पनि दलहरूबीच सहकार्य भएको नेपाली इतिहास छ । प्रजापरिषद, कांग्रेस र कम्युनिष्ट मिलेकै कारण २००७ सालको जनक्रान्ति सफल भएको थियो । जसको फलस्वरुप १०४ वर्षे राणा शासनको अन्त्य भइ मुलुकमा प्रजातन्त्र प्राप्त भएको थियो ।
तर, २०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्वाचित संसद र वीपी कोइराला नेतृत्वको मन्त्रिमण्डल विघटन गरी एकदलीय पञ्चायती व्यवस्थाको सुरुवात गरेका थिए । उक्त व्यवस्थाविरुद्ध कम्युनिष्ट र कांग्रेस छुट्टाछुट्टै लड्दा आन्दोलन सफल हुन सकेको थिएन । कम्युनिष्टसँग नमिल्ने नीतिकै कारण वीपीको जीवनभर प्रजातन्त्र पुनस्र्थापना हुन सकेन ।
पाँचदलीय गठबन्धन एकढिक्का भएर निर्वाचनमा होमिदै प्रतिगनकारीलाई मुखभरीको जवाफ दिनुपर्ने छ । संविधानद्धारा प्राप्त अधिकार जनताको लागि अनुभूति गराउन र लोकतन्त्रको जग बलियो बनाउन पनि गठबन्धन र सहकार्यको संस्कृतिलाई बलियो बनाउनुपर्छ ।
जनमत संग्रह भएपनि सुधारिएकै पञ्चायती व्यवस्थाको पक्षमा (५४.७९ प्रतिशत) मत खसेको थियो । वीपीको शेषपछि गणेशमान सिंहले कम्युनिष्ट र कांग्रेस मिलेर जाने नीति लिए, तब संयुक्त जनआन्दोलन सफल भयो । ३० वर्षीय पञ्चायती व्यवस्था ढल्यो र २०४६ साल चैत २६ गते मुलुकमा बहुदलीय व्यवस्था घोषणा भयो ।
फेरि तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा ‘कु’ गरे । कम्युनिष्ट र कांग्रेस मिलेकै कारण २०६२÷०६३ को दोस्रो जनआन्दोलन सफल भयो । जनआन्दोलनको जगमा गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते २३८ वर्ष लामो राजतन्त्रलाई इतिहासको पानामा सीमित गरिदियो ।
पछिल्लो समय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा दुई–दुई पटक (२०७७ पुस ५ र २०७८ जेठ ८ गते) संसद विघटन गरेर व्यवस्थामाथि नै धावा बोले । ओलीको प्रतिगामी कदमलाई पनि कम्युनिष्ट र कांग्रेस मिलेरै परास्त गरेका हुन् ।
पाँचदलीय गठबन्धनकै कारण ओलीको प्रतिगामी कदममा ब्रेक लागेको थियो भने हाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । यी घटनाबाट के बुझन सकिन्छ भने, जब मुलुकमा संकट पर्छ, त्यतिबेला कम्युनिष्ट र कांग्रेस मिलेर निकास दिँदै आएका छन् ।
अहिले पनि मुलुकमा प्रतिगनको खतरा टरिसकेको छैन । प्रतिगमनका लागि बारम्बार प्रयास गरिरहेका ओली, कमल थापा, महन्थ ठाकुर र राजेन्द्र महतोहरू गठबन्धनको कुरा गर्दै छन् । यसकारण पनि सुशासन, विकास निर्माण, जनजीविकाको सवाल सम्बोधन, संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा पाँचदलीय गठबन्धन सहकार्य गर्दै अगाडि बढ्नुपर्छ ।
आगामी वैशाख ३० गते देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन हुँदै छ । पाँचदलीय गठबन्धन एकढिक्का भएर निर्वाचनमा होमिदै प्रतिगनकारीलाई मुखभरीको जवाफ दिनुपर्ने छ ।
स्थानीय तहमा मात्रै नभइ प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समेत कम्तीमा अबको एक कार्यकाल पाँचदलीय गठबन्धनले देश र जनताको लागि पार्टीभन्दा माथि उठेर सहकार्य गर्न आवश्यक छ । त्यसो भएन भने यो संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुन सक्छ ।
संविधानद्धारा प्राप्त अधिकार जनताको लागि अनुभूति गराउन र लोकतन्त्रको जग बलियो बनाउन पनि गठबन्धन र सहकार्यको संस्कृतिलाई बलियो बनाउनुपर्छ ।














