
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन कोभिड–१९ का कारण पूरा हुन नसकेको अवस्थामा त्यसलाई सहजता बनाउनेलगायत विषयमा पनि दुवै पक्षबीच सौहार्द रुपमा छलफल भएको थियो । सोही अवसरमा पोखरा विमानस्थलमा चीनको ऋण सहयोगमा चिनियाँ पक्षले सम्पन्न गरेको प्राविधिक पक्षको काम नेपाललाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच १ घण्टाभन्दा लामो समय कुराकानी भएको थियो ।
भ्रमणका क्रममा विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेतासँग भेटवार्टा गर्ने तालिका रहेको छ ।














