काठमाडौं । एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गर्दै सेयरधनीलाई लाभांश दिन नसक्ने अवस्थाले निरन्तरता पायो । असार मसान्तसम्म बैंक सामान्य नाफामा फर्किए पनि वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेपछि बैंकको लाभांश दिन नसकेको हो । यतिबेला धेरै बैंक तथा वित्त संस्थाले धमाधम लाभांश घोषणा गरिरहेपनि यो बैंक भने सुनसान छ ।

अघिल्लो आर्थिक वर्ष ३ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी खुद घाटामा रहेको बैंक गत वर्ष १८ करोड १७ लाख रुपैयाँ नाफामा त फर्किएको छ । कागजी हिसाबले घाटाबाट नाफामा फर्किनुलाई सुधार मान्न सकिए पनि सेयरधनीको हातमा प्रतिफल जाने अवस्था अझै बन्न नसकेपछि नयाँ सीईओको जादु नचलेको विश्लेषण हुन थालेको छ ।
बैंकको नेतृत्वमा अनुभवी बैंकरका रूपमा चिनिएका सुजित शाक्य आएपछि बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको थियो । तर, २०८३ को असोजसम्म आइपुग्दा सार्वजनिक भएको वार्षिक वित्तीय विवरणले बैंकको समस्या सामान्य व्यवस्थापन परिवर्तनले तत्काल समाधान हुने प्रकृतिको नभएको देखाएको छ ।
बैंकको मूल आम्दानीमै दबाब कायमै छ । गत असारसम्म खुद ब्याज आम्दानी २२.५६ प्रतिशतले घटेर ७ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी थियो । बैंकिङ व्यवसायको मुख्य आम्दानी नै यति ठूलो दरले घट्नुले एनआईसी एशियासामु रहेको चुनौतीलाई स्पष्ट पार्छ ।
त्यसमाथि खराब कर्जा झन् बढेको छ । बैंकको खराब कर्जा ८.७४ प्रतिशतबाट बढेर ९.२६ प्रतिशत पुगेको छ । यो तथ्यांकले बैंकको सबैभन्दा ठूलो समस्या अझै कर्जा गुणस्तरमै रहेको देखाउँछ । नाफा सामान्य रूपमा धनात्मक हुनु र कर्जाको गुणस्तर सुध्रिनु फरक कुरा हुन् । एनआईसी एशियाको हकमा पहिलो भएको छ, दोस्रो अझै हुनसकेको छैन ।
पुँजीगत सूचकमा समेत सुधारको पर्याप्त आधार देखिएको छैन । टायर–वान क्यापिटल एडिक्वेसी रेसियो ६.८७ प्रतिशतबाट घटेर ६.२७ प्रतिशतमा आएको छ । समग्र क्यापिटल एडिक्वेसी रेसियो ११.१० प्रतिशत छ । खराब कर्जा बढिरहेको र वितरणयोग्य नाफा ठूलो ऋणात्मक अवस्थामा रहेको बेला पुँजीगत दबाब पनि व्यवस्थापनका लागि थप चुनौती हो ।
शाक्य नेतृत्वको व्यवस्थापनका लागि अब असारसम्मको कमजोर आधारलाई आगामी त्रैमासमा कसरी सुधार गर्ने भन्ने मुख्य चुनौती देखाएको थियो । तर नयाँ त्रैमासमा पनि उनको जादू चल्न नसक्ने जानकार बताउँछन् ।
नयाँ सीईओले नेतृत्व सम्हालेपछि तत्कालै चमत्कारिक परिवर्तन देखिन नसक्नु स्वाभाविक भए पनि बैंकको वित्तीय विवरणले सुधारको बाटो अझै लामो रहेको संकेत गर्छ ।














