
काठमाडौं । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सामान्य परेको छ ।
आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र देशका अन्य ठाउँको मौसम दिउँसो सामान्यतयाः सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यसैगरी प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थान र अन्य प्रदेशको मौसम राति सामान्यतयाः सफा रहने बताइएको छ ।
यसैबीच, देशभर तापक्रम बढ्ने क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन र पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाकोसमेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।














