सबैतिरबाट परास्त भइसकेपछि मान्छे विक्षिप्त बन्छ । विक्षिप्त मस्तिष्कले फगत दुष्प्रचार र अफावह फैलाएर आफूलाई शान्त पार्न खोज्छ । आफू जीवित रहुन्जेल सत्ताकै रसपानले मुख खोकेलेर बस्ने गहिरो इच्छाशक्ति भएको एउटा हुल अहिले उस्तै दुष्प्रचारमा निस्किएको छ ।
राजनीतिक सभा–समारोहका नाममा आयोजित मञ्चहरुमा हिजोआज रामायण, स्वस्थानी र सत्यनारायणका कथाहरु बाक्लै सुनिन थालेका छन् । सायद पायक पर्ने माध्यमबाट तपाईँले पनि सुनिरहनुभएकै होला ।
करिब तीन वर्षमा राष्ट्रिय ढुकुटीमा ९ खर्ब ऋण थपेर कीर्तिमान कायम गर्दै गर्दा सत्ताबाट गलहत्याइएको केपी एण्ड कम्पनीले बेलाबेला बडो अजीब लक्षणहरु प्रकट गर्ने गर्दछ । आफ्ना अनेक कुरुपताहरुमध्ये अहिले जजमानी रुप, अर्थात् पण्डित्याइँ अनुहार प्रदर्शनमा यो समूह भुइँमै मुख जोतेर लागिपरेको देखिन्छ ।
भनिन्छ– कम्युनिष्टहरू धर्मलाई अफिमसरह ठान्छन् । यद्यपि आफूलाई कमरेड र पार्टीलाई कम्युनिष्ट नामको कमेरो पोतेको दलका अध्यक्ष घाँटीमा रुद्राक्षको गुच्छा झुण्ड्याएर धर्मग्रन्थको ठेली बाँड्दै हिँड्छन् ।
निर्वाचनमा आफ्नो दल थला पर्ने लक्षणको अनुमान लगाइसकेका ओली गहिरो मानसिक तनावमा छन् । घरिघरि तर्साउने राष्ट्रियसभा निर्वाचनको नतिजाले उनको मुटु पोलेको छ । स्थानीय निर्वाचन सम्झेएर झनै आतंकित छन् भन्ने उनका अभिव्यक्तिहरुबाटै थाहा लाग्छ ।
वरिपरि टुप्पी तिखारिएका शिष्यहरु बसालेर सतिदेवीको देब्रे घुँडो पतन भएको स्थानबारे जानकारी दिन्छन् । ‘कैलाश पर्वतमा बसेर शिवजीले दिनमा कति चिलिम गाँजा तान्थे ?’ राजनीतिक प्रशिक्षणमा आएका कार्यकर्तालाई त्यो सम्बन्धमा प्रष्ट पार्छन् । उनको दलका आगामी कार्ययोजना बुझ्न आएका जनतालाई ‘दशरथले रामलाई वनबास जाँदा किन र के अर्ति दिएका थिए ?’ त्यो स्पष्टीकरण दिन्छन् ।
समग्रमा भन्दा यो पण्डित्याइँ हुल सम्भवतः राजनीतिक विचार र लक्ष्यबाट च्यूत बनिसकेको अवस्था छ । यसले सिद्धान्तलाई उखान टुक्काको चिहानमा सुताएर लोकलाई धार्मिकग्रन्थ रटाउँदै दिन काट्न थालेको छ । अर्कालाई होच्याउने र छिर्के हान्ने हेपाहा प्रवृत्तिलाई शिरोपर गर्दै सायद अब शिरोमणिको उपाधि हत्याउने दाउमा छ ।
केपी ओलिका हरेक वाक्यका पृष्ठभूमिमा डिप्रेसन झल्किन्छ । उनले अस्वस्थताका बाबजुद प्रशिक्षित गरेकै कारण ‘बा’ भन्न रुचाउने उनका छोराछोरी पनि भोलि अवैध चेतनाका उपज हुनेछन् ।
दुई पटकसम्म देशको प्रधानमन्त्री भइसकेका ओलीको शब्द चयन, मस्तिष्क र हैसियत देख्दा बालबालिकाहरुसमेत गिज्याउँछन् । विभिन्न रुपरङका पृथकतावादी, मण्डले, राजनीतिकरूपमा जनताबाट तिरस्कृत र बहिष्कृत– टालाटुलीहरु बटुलेर टुक्का सुनाउने र अग्लो आसनमा बसेर ताली खाँदै मख्ख हुने अनुहारले नेतृत्व गरेको झुन्डले अरुलाई अह्राएको फिटिक्कै सुहाउँदैन ।
जनता, राष्ट्र र सामाजिक रुपान्तरणप्रति एक चिम्टी पनि जिम्मेवारीबोध छैन । मुखबाट फुत्किने हरेक शब्दमा अहंकार मात्रै पुत्याउँछ । प्रत्येक हाउभाउ र चालचलनमा दम्भ र उत्दण्डबाहेक केही झल्किँदैन ।
जसरी मूलबाटोमा हात्ती हिँडेपछि गल्छेडाहरूमा भुस्याहाहरू भुक्न थाल्छन् । ठिक त्यसरी नै तुच्छता ओकेल्नु यिनीहरूको स्वाभावजन्य विषेशता बनेको छ ।
शास्त्रहरुमा लेखिएको सत्ययुग, त्रेतायुग र द्वापरयुगबारे आफैँले स्वयं भोगेझैँ व्याख्या गर्दै हिँड्ने केपी ओली मदन भण्डारी हत्याकाण्डबारे कहिल्यै बोल्छन् ? महाकाली सन्धिबारे कहिल्यै प्रष्ट पार्ने प्रयास गरे ? शिलान्यासका कुरै छाडौँ, तीन वर्षअघि उनैले उद्घाटन गरेका भौतिक संरचना अझैसम्म किन बनेनन् ? भन्ने विषयमा कहीँ बोले । उनकै कार्यकालमा भुइँ पखाल्नेदेखि झार फाल्ने नाममा भएका भ्रष्टाचारबारे कतै स्पष्टीकरण दिए ? पूरै ६ महिनासम्म संसद् अवरुद्ध गर्दै गरिब जनताको तिरो खुसुखुसु कुम्ल्याइरहँदा अलिकति पनि हीनताबोधको महसुस गरे ? अनि उनैलाई विकास र निकासको पिरलो । राष्ट्रिय अर्थतन्त्रको चिन्ता । जनताको बहुदलीय जनवादको त झन् कति हो कति चिन्ता ।
आफूलाई दुनियाँकै कठोर र शक्तिशालीका रुपमा चित्रण गर्न रुचाउने ओली आखिर माधव नेपालको छाँया देख्दासमेत किन तर्सिन्छन् ? सत्ता गठबन्धनसँग झन् कत्तिको त्राहिमाम छन् भनेर त उनको दैनिक प्रवचनहरुमा स्पष्ट झल्किएकै छ ।
सम्भवतः यसपालिको निर्वाचनमा आफ्नो दल थला पर्ने लक्षणको अनुमान लगाइसकेका ओली यतिबेला गहिरो मानसिक तनावमा छन् । घरिघरि तर्साउने राष्ट्रियसभा निर्वाचनको नतिजाले उनको मुटु पोलेको छ । त्यसैमा नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन सम्झिएर झनै आतंकित बनेको उनका अभिव्यक्तिबाटै थाहा लाग्छ ।
भलै मिलोस्–नमिलोस् उनी बेलाबेलामा सबै नेताहरूका भविष्यवाणी गर्दछन् । अन्य दलको कुरै छाडौं, स्वयं आफ्नै पार्टीभित्रका भिन्न विचार पस्किने नेताहरुलाई समेत उनी हदैसम्मको कटाक्ष गर्न पछि पर्दैनन् । उदाहरणस्वरुप सतहमै आउने भीम रावल र घनश्याम भुसालका सन्दर्भमा उनले गरेका व्यंग्यहरु हामीले देखेकै छौँ ।
अहंकार, लोभ, भय र आसक्तिले भित्रैदेखि जलेर जर्जर बनेका ओली हदैसम्म गिर्न पछि पर्दैनन् भन्ने गतिलो तथ्यांक हो उनले पछिल्लो समय हाँकिरहेको धार्मिक गफ ।
राष्ट्रप्रेमको हिलो दलेर दुनियाँ र आफू स्वयंलाई भ्रम बाँड्न माहिर रहेका ओलीले अप्राकृतिक लय समातेर सत्ता र शक्ति प्राप्तिका लागि जे पनि गर्न सक्छन् भन्ने कुरो पनि स्थापित भइनै सकेको छ । रुद्री, चण्डिपाठ, सप्ताह, महायज्ञ सबै भ्याए ।
प्रचण्ड–माधव नेपालहरुका ‘चिना’ हेरेर पनि भ्याए । अत्तालिएका यी अरिंगाल गणका गणपति कुन दिन– चिम्टा र कमण्डलु बोकेर ‘ठोरी’तिर कुँद्ने हुन् ? त्यो दृश्य भने लोकले अझै हेर्न बाँकी नै छ । राजनीतिमा भएको इमान र नैतिकता निख्रिएपछि यसो नगर्लान् भन्न पनि सकिन्न ।