Logo
Logo

करिब २० हजार भूमिहिनले पाए लालपूर्जा


1.3k
Shares

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमिविहिनले जग्गा धनीदर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई हिजो लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यसवर्षको प्राथमिकतामा नै नरहेको भएपनि आफूले मन्त्रालय सम्हालेपछि गाउँब्लकमा लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम आगाडि बढाएको बताइन् । उनले चार महिनाको अवधिमा गाउँब्लमा रहेका १९ हजार ६ सयभन्दाबढी भूमिविहिनलाई लालपूर्जा वितरण गरिसकिएको जानकारी गराउँदै अबको एक वर्षभित्र सबै गाउँब्लकको समस्या समाधान गरिसक्ने गरी कामलाई तीव्र पारिएको बताइन् ।

संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै मन्त्री श्रेष्ठले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् । उनले यो वा त्यो पार्टी नभनी जनताको पक्षमा काम गर्ने सबैसँग हातेमालो गरेर अघि बढ्न आफू तयार रहेको भन्दै सही काम गर्नेलाई जनताले पनि चिन्न आवश्यक रहेको बताइन् । मन्त्री श्रेष्ठले भूमिहिन, दलित तथा भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दिगो रुपमानै समाधान गर्न आफू लागीपरेकोे पनि बताइन् ।

उनले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवन इच्छाकामना गाउँपालिका, काठमाडौंको कीर्तिपुर नगरपालिका, भक्तपुरको मध्यपुर ठिमि नगरपालिका, तनहुँको बन्दीपुर र चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरण गरिसकेकी छन् । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपूर्जा वितरण अभियान तीव्र पारिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्