
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय आवश्यकता र औचित्यका आधारमा स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलसँग तालमेल गर्ने भएको छ । केन्द्रीय समितिको जारी बैठकमा सदस्यहरूको धारणा सुनेसँगै कांग्रेस नेतृत्व वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलसँग स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने निष्कर्षमा पुगेको हो ।
बैठकमा सबैजसो केन्द्रीय सदस्यले तालमेलकै पक्षमा मत राखेको जानकारी दिँदै नेता रामचन्द्र पौडेल भने, ‘केन्द्रले सैद्धान्तिक वा नीतिगत निर्णय गर्नेछ । तालमेल कुन तरिकाले गर्नेलगायत बाँकी कुरा पार्टीका तल्ला तहले नै टुंयाउनेछन्।’
केन्द्रीय कार्यालय सानेपामा शुक्रबारदेखि सुरु केन्द्रीय समितिको बैठक आइतबार पनि बस्यो । बैठकमा बोल्ने नेताहरूले स्थानीय आवश्यकताअनुसार निर्वाचनमा तालमेल गर्नुपर्ने तर त्यसका लागि पार्टीले सैद्धान्तिक निर्णय लिनुपर्नेमा जोड दिँदै विपक्षमा उभिन उपयुक्त नहुने धारणा राखेका थिए । निर्वाचन प्रणालीका कारण पनि संघ र प्रदेशमा सरकार सञ्चालनका लागि गठबन्धन आवश्यक रहेको भन्दै उनीहरूले स्थानीय तहको चुनावमा पनि तालमेलका पक्षमा जोड दिएका हुन् ।
अहिले २०७४ सालमा निर्माण भएको वाम गठबन्धन भत्कनुका साथै एमाले विभाजन हुँदा कांग्रेसका नेता–कार्यकर्तामा केही उत्साह आएको तर्क गर्दै केन्द्रीय सदस्य एनपी साउदले कम्युनिस्टहरूले साढे तीन वर्षसम्म केन्द्रदेखि स्थानीय तहसम्म दोहन गरेको स्रोतसाधन आगामी निर्वाचनमा कांग्रेसविरुद्ध प्रयोग गर्न सक्नेतर्फ सचेत हुनुपर्ने धारणा राखेका थिए ।
कर्मचारी प्रशासन अहिले पनि कम्युनिस्टहरूकै पक्षमा रहेको तर्क गर्दै उनले निर्वाचन प्रणालीका कारण पनि गठबन्धन गर्नुपर्ने आवश्यकता औंल्याए। राजनीतिक र भौगोलिक आधारमा ‘भोट ट्रान्सफर’ हुनेगरी तालमेल गर्नुपर्ने बताउँदै उनले भनेका थिए, ‘तालमेल नहुँदा विगतको निर्वाचनमा पनि कांग्रेस दोस्रो हुन पुग्यो । अहिले गठबन्धन सरकार पनि भएकाले त्यसलाई निरन्तरता दिँदै अघि बढे परिणाम कांग्रेसको पक्षमा आउन सक्छ।’, यो समाचार नागरिक दैनिकबाट सभार गरिएको हो ।












