
गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छन् । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न उनी पोखरा आएकी हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आएकी हुन् ।
उनलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री पद्मा अर्याल, प्रदेशसभा सदस्य, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतले स्वागत गरेका थिए । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा हुने सम्मेलनमा देशका ७५३ वटै पालिकाका न्यायिक समितिलाई निमन्त्रणा गरिएको उपप्रमुख एवं न्यायिक समितिका प्रमुख गुरुङले जानकारी दिइन् ।
महानगर, उपमहानगर, नगर, गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ । संविधानको भाग १७ स्थानीय कार्यपालिकाअन्तर्गत धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरिएको छ । कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न नगरपालिका वा गाउँपालिकाका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय समिति रहने व्यवस्था गरिएको छ ।
बाँकी दुई सदस्य नगर वा गाउँसभाबाट निर्वाचित मध्येबाट रहने व्यवस्था गरिएको छ । आम जनतालाई न्यायको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ न्यायिक समिति बनाइएको हो ।











