Logo
Logo

निर्वाचन अभियानमा जुट्यो एकीकृत समाजवादी


1.2k
Shares

सुनसरी । कोशी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरु स्थानीय तह निर्वाचन लक्षित घरदैलो कार्यक्रमको तयारीमा जुटेका छन् ।

सो पार्टीका सुनसरी जिल्ला उपाध्यक्ष रामचन्द्र मटियैतका अनुसार कोशी गाउँपालिका कमिटीको विस्तारित बैठकको निर्णय बमोजिम पालिकामा रहेका ८ वटै वडाका टोल बस्तीमा कलम चिह्नसहित चुनावी घरदैलो अभियानको तयारी गरिएको हो ।सुनसरीका विभिन्न गाउँ बस्तीमा एक महिने संगठन निर्माण अभियानमा एमाले किन छोड्ने, एकीकृत साजवादी किन रोज्ने भन्ने वैचारिक अभियानसँगै केपी ओली नेतृत्वको एमालेका विरुद्ध अभियान सञ्चालन भएको मटियैतले जानकारी दिए ।

उनका अनुसार कोशी गाउँपालिकामा केपी ओली नेतृत्वको एमालेका जगदिश कुसियैत परिवारका बाहेक सबै कम्युनिष्ट नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएकाले आउँदो स्थानीय तहको निर्वाचन एकल रुपमा जित्ने गरी अभियानको थालनी गर्न लागिएको हो । अभियान अन्र्तगत प्रत्येक वडामा एकजना जिल्ला सदस्यसहित पालिका कमिटीका पदाधिकारी, वडा कमिटी, टोल कमिटी परिचालित भएका छन् । घरदैलोमा सहभागी भएका नेता तथा कार्यकर्ताहरुले स्थानीयलाई राजनीतिक सन्देशसँगै समस्याका बारेमा छलफल गरी समाधानका बारेमा सुझाव लिने कार्यक्रम गरिने बताइएको छ ।

घरदैलौ अभियानमा प्रत्येक घरमा कलम चिह्न अंकित झन्डा टांग्ने, कार्यकर्ताहरुलाई स्थानीय मतदाताका समस्या र चुनावी घोषणापत्रमा समावेश गर्नुपर्ने विकास निर्माणका योजनाहरु संकलन गर्ने जिम्मेवारी दिइएको छ । एकीकृत समाजवादीका कोशी अध्यक्ष शत्रुधन चौधरीले चुनावी अभियान लिएर टोल बस्तीमा जाँदा दैनिक एमाले छोडेर ठूलो संख्यामा एकीकृत समाजवादीमा आउनेहरुको भिड रहेकाले यसपटक चुनावमा कलम चिह्न लिएका उम्मेद्वारले जित्ने दाबी गरे ।

एकीकृत समाजवादीका नेता राजकुमार कुसियैतले जनतालाई सूर्य चिह्नको भ्रममा नपर्न आग्रह गर्दै कलम चुनाव चिह्न कम्युनिष्ट पार्टीको चिन्ह हो भन्ने सन्देश दिँदै विकासका लागि एकीकृत समाजवादीमा आबद्ध हुन सन्देश दिन अभियान सुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्