
काठमाडौं । स्थानीय तहको निर्वाचित नजिकिएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेता आगामी निर्वाचिनका लागि गठबन्धनको ढाँचा तयार पार्न जुटेका छन् ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूको आगामी बैठकले गठबन्धनको ढाँचालाई अन्तिम रुप दिने भएका छन् । गठबन्धनका दलहरूले अहिले जितेको स्थान आफैले लिने र एमालेले जितेको स्थानमा भागबन्डा गर्ने सहमति गरिसकेका छन् ।
आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा समेत गठबन्धन कायम गर्ने गरी तल्लोतहसम्मै गठबन्धनको संस्कार विकास गर्ने तयारीमा शीर्ष नेता लागेका छन् । स्थानीय निर्वाचनको परिणाम अनुकूल दिने र प्रदेश र केन्द्रमा पनि सत्तारुढ गठबन्धनबाटै निर्वाचन लड्ने रणनीति शीर्ष नेताहरूको छ ।
महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट टुंग्याएर नगरपालिका र गाउँपालिकामा तल्लो तहका कमिटीलाई निर्णय गर्न दिने सहझदारी गठबन्धनका शीर्ष नेताहरूको छ ।
२०७४ को स्थानीय निर्वाचनमा ६ महानगरमध्ये कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिका जितेको थियो । एमालेले काठमाडौं र पोखरा, माओवादी केन्द्रले भरतपुर र जसपाले वीरगञ्ज महानगरपालिका जितेको थियो ।
एमालेले जितेको काठमाडौं र पोखरामध्ये एक महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउने सहमति शीर्ष तहमा भइसकेको स्रोतले बताएको छ । काठमाडौं र पोखरामध्ये एउटा एकीकृत समाजवादी र अर्को कांग्रेसले लिने सहमति जुटिसकेको स्रोतले दृष्टिलाई बतायो ।












