काठमाडौँ । एनपीएल अर्थात् ‘फेस्टिभल अफ हिमालयज’ सुरु हुन अब केही दिन मात्र बाँकी छ। अक्टोबर २६ देखि नोभेम्बर २१ (कार्तिक १० देखि मङ्सिर ५) सम्म काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन आयोजना हुँदैछ। यो संस्करणलाई नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो उत्सवका रूपमा हेरिएको छ। अघिल्ला दुई सिजनभन्दा यो संस्करण कसरी फरक र भव्य बन्दैछ?

अम्पायरिङ विवाद रोक्न पहिलोपटक ‘डीआरएस’
क्रिकेटमा एउटा गलत निर्णयले सिङ्गो म्याचको नतिजा उलटपुलट पार्न सक्छ। अघिल्ला सिजनहरूमा अम्पायरका निर्णयलाई लिएर उठेका विवाद अन्त्य गर्न नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक डीआरएस (डिसिजन रिभ्यु सिस्टम) भित्र्याएको छ। यो एनपीएल सिजन-३ को सबैभन्दा ठूलो प्राविधिक फड्को हो।
यस प्रणालीअनुसार एलबीडब्लू (LBW) को निर्णय जाँच्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ, जसले बलको बाउन्स, स्विङ र स्टम्पमा लाग्ने सम्भावना रेखाङ्कन गर्छ। ब्याट र बलको सम्पर्क पत्ता लगाउन ‘एज डिटेक्सन’ र साउन्ड वेभ प्रविधि जडान गरिएको छ। यसका साथै रनआउट, स्टम्पिङ, फ्रन्ट-फुट नोबल, वाइडको उचाइ र छक्काको दूरी नाप्न भिडियो रिभ्यु प्रयोग हुनेछ। प्रत्येक टोलीले प्रति इनिङ्स दुईवटा असफल रिभ्युको अधिकार पाउनेछन्।
क्यानका सचिव पारस खड्काका अनुसार यो प्रविधि भित्र्याउन करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च हुनेछ, जुन लागत क्यान र आठवटै फ्रेन्चाइज टोलीले सहभुक्तानी गर्नेछन्। रिभ्यु प्रणालीका कारण प्रत्येक म्याचको समय करिब ३० मिनेट बढ्ने भएकाले क्यानले खेलतालिकामा ३० मिनेट अतिरिक्त समय थपिसकेको छ।
आईसीसीको आधिकारिक ‘स्याङ्सन’ र टी-२० दर्जा
अक्टोबर १६, २०२६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एनपीएललाई दिएको आधिकारिक मान्यता (स्याङ्सन) नेपाली क्रिकेटका लागि ऐतिहासिक कोसेढुङ्गा हो।
यस मान्यतासँगै यो सिजनका सबै म्याचले आधिकारिक टी-२० (Official T20) को दर्जा पाएका छन्। अर्थात्, एनपीएलमा खेलाडीले बनाएका रन र लिएका विकेट उनीहरूको आधिकारिक अन्तर्राष्ट्रिय करिअर रेकर्डमा गणना हुनेछन्। यसअघि आधिकारिक दर्जा नहुँदा विश्वका सक्रिय स्टार खेलाडीहरू आउन हिचकिचाउने र क्यानले कोटा प्रणाली अपनाउनुपर्ने बाध्यता थियो। आईसीसीको स्याङ्सनसँगै अब टेस्ट राष्ट्रका सक्रिय खेलाडीहरू भित्र्याउने ढोका पूर्ण रूपमा खुलेको छ।
एन्टी करप्सन र कडा नियम
म्याच फिक्सिङ र भ्रष्टाचार रोक्न आईसीसीको एन्टी करप्सन युनिट (ACU) ले खेलस्थल, ड्रेसिङ रुम र टोलीहरूमा प्रत्यक्ष निगरानी राख्नेछ।
यसका साथै अवकाशप्राप्त (Retired) लगायत सबै विदेशी खेलाडीले आ-आफ्नो क्रिकेट बोर्डबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (NOC) लिनैपर्ने अनिवार्य व्यवस्था गरिएको छ। एनपीएल सुरु हुनुभन्दा ६ महिनाअघि कुनै पनि गैरमान्यताप्राप्त निजी लिग खेलेका खेलाडीले यस प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। नियमअनुसार फ्रेन्चाइजहरूले टोलीमा ६ देखि ८ जना विदेशी खेलाडी राख्न पाउनेछन् भने ‘प्लेइङ-११’ मा अधिकतम ४ जना विदेशी खेलाडी र कम्तीमा १ जना एसोसिएट राष्ट्रका खेलाडी समावेश गर्नुपर्नेछ।
विश्वका चर्चित स्टारहरूको आगमन
पहिलो सिजनमा शिखर धवन र दोस्रो सिजनमा फाफ डु प्लेसिस जस्ता खेलाडी आएर एनपीएलको जग बसालेका थिए। तर, तेस्रो सिजनमा भित्रिएका विश्वस्तरीय स्टारहरूको उपस्थितिले प्रतियोगिताको रोमाञ्चकतालाई नयाँ उचाइमा पुर्याएको छ।
अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ब्याटर डेभिड वार्नर ‘काठमाडौं गोर्खाज’ बाट मैदानमा उत्रनेछन् भने वेस्ट इन्डिजका पावर हिटर आन्द्रे रसेल लाई ‘विराटनगर किङ्स’ ले भित्र्याएको छ। त्यस्तै, बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हसन ‘पोखरा एभेन्जर्स’ मा आबद्ध भएका छन्। जनकपुर बोल्ट्सले इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिमी निशम दुवैलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ।
यसका साथै पाकिस्तानका पूर्वफास्ट बलर शोएब अख्तर पनि एनपीएलका लागि नेपाल आउँदैछन्। उनी खेलाडीका रूपमा नभई ‘हिमालय स्पोर्ट्स’ को आधिकारिक ब्रोडकास्टिङमा विज्ञ/एनालिस्टको भूमिकामा देखिनेछन्। यी दिग्गज खेलाडीहरूको उपस्थितिले नेपाली युवा खेलाडीलाई ठूलो अनुभव प्रदान गर्ने मात्र नभई विश्वभरका क्रिकेट प्रेमीको ध्यान नेपालतर्फ खिच्नेछ।
त्रिवि मैदानको नयाँ रूप र पूर्वाधार
विगतमा कीर्तिपुरका रुखका हाँगामा झुन्डिएर म्याच हेर्नुपर्ने बाध्यता अब इतिहास बनेको छ। क्यानले दर्शक र खेलाडीको अनुभव सुधार्न पूर्वाधार विकासमा व्यापक परिवर्तन गरेको छ।
रङ्गशालामा करिब दुई हजार सिट क्षमता वृद्धि गरी नयाँ सिटहरू जडान गरिएका छन् भने छानासहितको अत्याधुनिक प्यारापिट निर्माण गरिएको छ। म्याचको प्रत्यक्ष अनुभवलाई उत्कृष्ट बनाउन एलइडी (LED) स्कोरबोर्ड र डिजिटल पेरिमिटर बोर्ड राखिएका छन्। यसबाहेक निजी डाइनिङ सुविधासहितका खेलाडी डगआउट, मिडिया सेन्टर, छुट्टै फ्यामिली जोन र सरसफाइयुक्त अत्याधुनिक शौचालयहरू निर्माण भई प्रयोगका लागि तयार भइसकेका छन्। यसले खेलाडी, दर्शक, अन्तर्राष्ट्रिय ब्रोडकास्टर र प्रायोजकहरूलाई अन्तर्राष्ट्रियस्तरको सुविधा प्रदान गर्नेछ।















