Logo
Logo

साइनो स्पोर्टस क्लब फाइनलमा


630
Shares

विराटनगर । साइनो स्पोर्टस क्लब रानी विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गोधुली क्लब धरान सुनसरीलाई ‘सडन डेथ’ मा ९–८ गोलले हराउँदै साइनो फाइनलमा पुगेको हो ।

साइनोले फाइनलमा आज हुने अन्तिम सेमिफाइनलमा गोलबजार प्रतिभा फुटबल क्लब सिरहा र दमक एकेडेमी झापाबीच जित्ने टीमसँगै प्रतिस्पर्धा गर्नेछ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा हिजो भएको खेलमा निर्धारित समयसम्म गोलरहित खेल बराबरीमा टुंगिदा खेलको निर्णय सडन डेथबाट लिइएको थियो । सडन डेथमा साइनोका अशोक खवास, कैलाश बस्नेत, दिवाकर चौधरी, निशेन सुब्बा, मीन धिमाल, खमिर गिल्सन, दिनेश राई, भुवन बस्नेत र एञ्जल श्रेष्ठले गोल गरेका थिए । निशान लिम्बूको प्रहार पोसमा ठोक्किएर बाहिरियो । धरानका दोर्जे तामाङ्ग, सुशिल राई, दिवस सुनवार, मनोज राई, जीवन गुरूङ, मनिष थापा, तपन कार्की र उमेश राईले गोल गरे ।

मिलन राई र सञ्जित राईको प्रहार साइनोका गोलकिपर एञ्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए । धरानका दुई जना खेलाडीको सशक्त प्रहार उत्कृष्ट बचाउ गरी टीमलाई फाइनल यात्रा सुरिक्षत गराउने साइनोका गोलकिपर एञ्जल श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । निर्धारित समयसम्म दुवै टीमले आक्रामक खेल पस्किए पनि दुवै टोली गोल गर्न असफल रहे । दुवै टीमले थुप्रै गोल गर्ने अवसर खेर फाले । निर्धारित समयसम्म धरानका खेलाडीले लगातार प्रहार गरे पनि साइनोका गोलकिपर एञ्जलले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफदेखि आक्रामक प्रदर्शन गरेको साइनोका निश्चल लिम्बूले ४५ औं मिनेटमा डिबक्स भित्रबाट गरेको ‘बाइसाइकल किक’ को धरानका गोलकिपर सृजन राईले उत्कृष्ट बचाउ गरे ।

५७ औँ मिनेटमा धरान गोल गर्नबाट चुक्यो । भुवन बस्नेतको सशक्त प्रहार पोस माथिबाट बाहिरियो । ६० औँ मिनेटमा साइनोका निश्चल लिम्बूले बक्सभित्रबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्