Logo
Logo

आन्दोलन फिर्ता भएपछि कर्मचारी काममा फर्किए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ असार । राजधानीको बौद्धस्थित पाँचतारे होटल ह्यात रिजेन्सीमा मजदुरले राखेको पूर्व सहमति कार्यान्वयन गर्नुपर्ने गरी गरेको आन्दोलन फिर्ता भएको छ । श्रम तथा रोजगार कार्यालयले समस्या समाधान गर्न लेखेको पत्रपछि मजदुरले मंगलबार आन्दोलन फिर्ता लिएका हुन् ।
ह्यात होटलको आधिकारिक ट्रेड युनियन तथा होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष मुक्ति दाहालका अनुसार आन्दोलन फिर्ता भएको भएपनि दबाबका कार्यक्रम जारी रहनेछ ।
होटल व्यवस्थापान र कर्मचारीबीच असमझदारी हटाउन तथा पछिल्लो विवादको समाधान गर्न ट्रेड युनियन महासंघ नेपालले चार सदस्यीय एक समिति बनाएको छ ।
समितिमा नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष दीपक पौडेल, अखिल नेपाल ट्रेड युनियनका महासंघका उपमहासचिव प्रकाश श्रेष्ठ, अखिल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष माधव पाण्डे र नेपाल स्वतन्त्र होटल मजदूर युनियनका बरिष्ठ उपाध्यक्ष वंशीधर भट्टराईसहितको एक समिति बनेको हो । सो समितिले मजदुर समस्याका विषयमा अध्ययन गर्ने जनाइएको छ ।
कर्मचारीले विगतका सहमति कार्यान्वयन र सेवा सुविधा माग गर्दै करिब साता दिनयता आन्दोलन गर्दै आएका थिए । आन्दोलल फिर्ता लिएसँगै कर्मचारी काममा फर्किएका छन् । युनियनमा आबद्ध होटलका ३२० जनाले काम रोकेका थिए ।
७४ लाख ४९ हजार कित्ता सेयर सूचीकृत भएको यो होटल सरकारी समिति तारागाउँ विकास समिति र भारतीय लगानीकर्ता राधेश्याम सर्राफ तथा दिनेशलाल श्रेष्ठ परिवारसहितको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्