Logo
Logo

मन्त्री गहतराजद्धारा १ सय ३७ जनाको ब्याज अनुदान फिर्ता


1.1k
Shares

बाँके । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई हिजो ब्याज अनुदान रकम हस्तान्तरण गरेका हुन् । बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगञ्जको गृहिणी बहुउद्देश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था तथा कोहलपुरको सृजना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १ सय ३७ जनालाई १८ लाख रुपैयाँ ब्याज अनुदान वितरण गरिएको हो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारी मार्फत युवाहरुलाई आयआर्जन र स्वरोजगार गराउने उद्देश्यले प्रवाह गरिएको ऋणको ब्याजमा ६० प्रतिशत स्वरोजगार कोषले फिर्ता गर्ने नीति अनुरुप ब्याज रकम फिर्ता गरिएको हो ।

कोषका अध्यक्षसमेत रहेका मन्त्री गहतराजले गृह जिल्ला बाँकेबाट ब्याज रकम फिर्ता अभियान सुरु गरेका हुन् । कार्यक्रममा उनले युवा तथा महिलाहरुलाई स्वरोजगार बन्न आग्रह गरेका थिए । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत देशभरीका करिब ८१ हजार युवाहरु स्वरोजगार भएका उल्लेख गर्दै मन्त्री गहतराजले रोजगार सँग-सँगै स्वरोजगारको उपाय अवलम्बन गर्न आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै उद्यमीहरुले स्वरोजगार कोषले कर्जामासमेत ब्याज अनुदान दिएको भन्दै खुसी व्यक्त गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाई युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नसमेत अपील गरेका थिए ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बाँकेमा रहेका ७२ वटा सहकारी र २६ वटा बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा ३६ करोड ५१ लाख रुपैयाँ बढी रकम लगानी गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए । कोषले बाँकेका ३ हजार व्यक्तिलाई स्वरोजगार हुन मद्दत गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्