Logo
Logo

पार्टीभित्र अराजकता फैलाउने जोसुकैलाई कडा कारबाही हुन्छः ओली


252
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने बताएका छन् । मंगलबार कोसी, मधेस, वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले गएको केन्द्रीय कमिटी बैठकलाई ‘कट अफ डेट’ मानिएको बताए ।

उनले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि कार्यकर्तालाई अनुशासन र निष्ठामा रहन निर्देशन दिए । उनले भने– ‘अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन । केन्द्रीय कमिटीको बैठकलाई हामीले ‘कट–अफ डेट’ मानेका छौँ, अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ । ’

ओलीले ‘लोकतन्त्रको पुनर्वहाली’ र ‘आगामी स्थानीय निर्वाचनको तयारी’ पार्टीको मुख्य गन्तव्य भएको स्पष्ट पारे । ‘दुई कार्यभार कतिखेर कुनमा फोकस हुने कुरा पार्टीले निर्धारण गर्छ । निर्वाचनमा फोकस हुन्छौँ र जित्छौँ । जनसंगठनहरू डिफङ्स छन् । अब रिअर्गानाइज हुन्छ’, ओलीले भने, ‘पुनर्गठन भनेर अध्यक्ष हटाउने हो भनियो । यो अपराधपूर्ण क्रियाकलाप हो ।’

उनले केन्द्रीय कमिटीअघिका यी सबै कुरा क्षमा भएको बताए । उनले भने ‘तर, अब क्षमा हुँदैन । हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौँ । यो चुनावको तयारीको बेला हो । कोराकोर, हानहान गर्ने होइन ।’

देशलाई जबरजस्ती पछाडि फर्काउने, संवैधानिक प्रक्रिया मिच्ने र मुलुकमा विध्वंश तथा आतंक मच्याउने प्रयास गरिरहेकाले यसलाई रोक्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । “गैरसंवैधानिक कदमहरूका कारण देश संकटमा परेको छ । तर, एमालेले देशलाई पुनः लोकतान्त्रिक विधि र संवैधानिक ट्रयाकमा ल्याउन तथा संविधानको रक्षा गर्न दृढतापूर्वक नेतृत्व लिनेछ,” ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्