
काठमाडौं । सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको बताए ।
उनले भने, ‘उहाँलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो ।’ पोखरेलले जबराको परिवारले सुरक्षा माग गरेर प्रहरी कार्यालयमा निवेदन दिएको भन्दै यसबारे सबै कुरा प्रस्ट भइसकेको बताए ।
सुरुमै थ्रेट आइसकेपछि सुरक्षित स्थानमा लगिएको दाबी गर्दै मन्त्री पोखरेलले त्यो थ्रेट जेनजीबाट नभई अपरिचत समूहबाट आएको बताए । सुरक्षा थ्रेट रहेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई आइतबार बिहान करिब ३ बजे निवासबाटै नियन्त्रणमा लिएको थियो ।














